Thursday 28th March 2024
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै ।
हेरालो खबर , असार १५ पोखरा ।
१९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
धान दिवस मनाउँदा किसानहरु बिच कृषि क्षेत्रमा टिकिरहन थप हौसला मिल्ने विश्वास गरिएको छ । कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ ।
धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले समेत खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गर्न सहयोग गर्दैछन् । मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरी रोपाँई गरिंदैछ । आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् ।