Tuesday 19th March 2024
कावासोतीमा डुबेर २ वर्षीया बालिका र ६ वर्षीय बालकको मृत्यु ।
हेरालो खबर , तिर्थराज डुम्रे , साउन १४ नवलपुर
नवलपरासी पूर्वको कावासोती नगरपालिकामा डुबेर २ वर्षीया बालिका र ६ वर्षीय बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका – १४ का पुरन चौधरीको २ वर्षीया छोरी प्रिन्सा चौधरीको आफ्नै घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुवेर उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएकी चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर जयराम वान्तले बताउनुभयो ।
उता मामा घर आएका देवचुली नगरपालिका–१० बस्ने माया सिंजालीको छोरा ६ वर्षीय रितिक सिंजालीको कावासोती नगरपालिका–४ स्थित केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुवेका सिंजालीलाई मध्यविन्दु जिल्ला अस्पतालले मृत घोषणा गरेको इन्स्पेक्टर वान्तले बताउनुभयो ।
शनिबार नै नवलपरासी पूर्व प्रहरीले नारायणी नदीमा पौडी खेल्ने क्रममा बगेका चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का २४ वर्षीय सुजन थापालाई उद्धार गरेको छ । गैंडाकोट नगरपालिका–१ ब्रिटिश क्याम्प नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको सुचना पाएको प्रहरीले स्थानीयको सहयोगमा थापाको उद्धार गरेको इन्स्पेक्टर वान्तले बताउनुभयो । थापालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको छ ।