Tuesday 19th March 2024
पोखरामा एटिएम मेशिन फोडेर नगद झिकिरहेको अवस्थामा एक युवक पक्राउ।
हेरालो खबर , साउन २२ पोखरा ।
कास्की प्रहरीले एटिएम मेशिन फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वार्ड न ३ निवासी २३ वर्षीय कृष्ण बहादुर वि.क रहेका छन्।
प्रहरीका अनुसार गएको साउन २० गते शुक्रबार राति अन्दाजी ११ बजेको समयमा पोखराको बिरौटास्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गरिरहेको भन्ने सूचना पश्चात तत्काल खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ परेका विक यस अगाडि पनि माछापुछ्रे बैंकको एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पक्राउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट रू एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा पठाएकोमा पछि अदालतबाट मुद्दा फैसला पश्चात तोकिएको कैद भुक्तानी गरी छुटेको थाहा भएको छ।
हाल उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर चोरी उद्योग कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
गत असार ३१ गते पोखराको सभागृह चोकमा रहेको एनआईसी बैंकको एटीएम फोडिएकोमा पुनः साउन ४ गते पोखरा -२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी भएको थियो।