Tuesday 19th March 2024
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने
हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११ बुँदे सम्झौताको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गर्ने भएको छ । समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबारको दक्षिण गेटमा फागुण २९ गते विरोध प्रदर्शन गर्ने भएको हो ।
समाजका सभापति उत्तम पुडासैनीले आज एक विज्ञप्ति जारी गर्दै सरकार र डा.राउतबीच भएको सम्झौता लगत्तै जनमत संग्रह गर्ने भन्ने प्रचार अभियानमा राउत पक्ष जुटेकोले त्यसको विरुद्धमा प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ : ‘२०७५ फागुन २४ गते नेपाल सरकार र डा. सि के राउतबीच भएको ११ बुँदे सहमति पूर्व सरकारद्वारा निज सिके राउतले विखण्डनकारी अभियान परित्याग गर्ने भनि व्यापक प्रचार प्रसार गरेको थियो । तर उक्त सहमतिमा हस्ताक्षर लगत्तैको संवोधनमा सिके राउतद्वारा विखण्डनको अभियान परित्याग गरेको स्पष्ट प्रतिवद्धता व्यक्त भएन, उल्टो सहमतिको दोस्रो बुँदालाई उद्धृत गर्दै जनमत संग्रहको कुरा गरेको र त्यस पश्चात राउत र निजको संयन्त्रले सामाजिक सञ्जाल लगायतका माध्यमबाट निरन्तर जनमत संग्रह गर्ने सहमति भएको प्रचार गर्दै आएको छ । नेपाल राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा प्रहार गर्ने गरी भएको यस्तो प्रचारले शान्ति समाज मर्माहत भएको छ ।’
समाजले डा.राउतले विखण्डनकारी अभियान परित्याग गर्ने प्रतिबद्धता कतै पनि व्यक्त भएको नदेखिएकोले प्रदर्शन गर्नुपरेको स्पट पारेको छ । उक्त प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत अधिकारकर्मीहरुको सहभागिता रहनेछ समेत जनाइएको छ ।