Thursday 28th March 2024
“सम्बाेधन”
कल्पना जोशी ।
नमस्कार राष्ट्रपति ज्यू, म लिपुलेकको छेवैबाट गुहार पुकारीरहेकी मन्सरा देवी, बेला– बेलामा हातपातको सिकार भइराख्ने म कहिल्यै बुलंद हुन सकिन, न त मेरो भाषा बुझ्नुहुन्थ्यो हजुरले, आवाज त्यो कानसम्म पुग्दा प्रत्येकपटक मेरो खुट्टामुनिको जमिन बिरानो भइसक्थ्यो, र बोल्न बाध्य हुन्थे “क्या कर रहे हो? बोला ना हाँ तुम्हारी तो हुं मै।" आज मेरो छातीमा हात मात्र होईन पैदल र बिदेशी धुवाँका मोटरहरू गुड्न सुरू भइसके, झुत्रे पेटीकोट च्यात्तिसक्यो, मेरै सन्तानले बक्षस्थल कुनै संग्रहालयमा पनि भेट्न पाँउने छैनन् अब, मेरो शरीर तहसनहस छ, आँशु देखिन छोडिसके, चिच्याँउछु त प्रतिध्वनीमा दानविय हाँसोको अट्टहाँस सुन्छु, तपाईं पनि त एक आमा बुझ्नुहुन्छ नि यो वेदना? नमस्कार प्रधानमन्त्री ज्यू, म कञ्चनपुर गड्डाचौकि सिमानाबाट सहिद गोविन्द गौतमकी आमा! मेरी बुहारीले रातोकालो रङ्ग भुल्न सुरू गरिसकेकी थिईन, मेरा नातिनातिनाहरूले “ देश बा हुन, देश आमा हुन" बोल्न सुरू गरिसकेका थिए, मेरा श्रीमानले आफु पटकपटक मरेपनि छोरो दशगजाको खम्बामा जिउँदो रहेको प्रमाण खोज्न सिकिसकेका थिए, म आफैले छोराको श्राद्धको तिथि बिना आँशु सम्झिन सुरू गरिसकेकी थिएँ, आज फेरि सिमानामा आमाको बलात्कार हुँदैछ अब कसलाई पठाउँ म इज्जत जोगाउन? परराष्ट्रमन्त्री ज्यू नमस्कार! म खुमजुङ्बाट फूकि शेर्पा, एकदिन नेपाल एकदिन चिन रहने भु–भाग, मेरा पुर्खा र पर–पुर्खाहरूको कर्म, धर्म, र अस्तित्व एक हवाई परिक्षण र 'गुगल म्याप’ले धरासायि बनाएको छ, हवाई परिक्षण बारे तपाईं बढी बुझ्नुहुन्छ सरकार, यो पनि सोधिदिनुहोला कि बेलाबखत मेरो भु–भाग चिनमा परिरहँदा म कता पर्दछु? 'स्याटेलाइट नेभिगेसन’ र हवाई परिक्षणका सन्तानहरूलाई बुझ्ने भाषामा सन्देश पुर्याइदिनुहोला आँखामा पट्टि बाँधेर, बिना सिलिन्डर सगरमाथा चढौं, पुरिएका लासहरूसंग अस्तित्वको वार्तालाप गरौँ, ग्यारेन्टी दिन्छु तिनै चिनियाँ अनुहारहरूले झुठ्याइदिनेछन् तिम्रो दावी, ट्विट पोस्ट र डिलिटको डिजिटल खेल खेल्दै गर्नु फुर्सदमा। नमस्कार म निर्मला पन्त, मेरी आमाले सिंहदरबार अगाडी खुट्टाको चप्पल हातमा बोकेर न्याय माग्न जाँदा, बहिरो भयो कानून, अन्धो भयो विधीको शासन, मौन रहे मौलिक अधिकारहरू, कडा रह्यो सुरक्षा व्यबस्था, गोली हानियो मेरै दाजुभाइहरूलाई, आज त्यहीँ ठाँउमा, त्यहीँ विधीको शासनमा रहेर बिदेशीले 'अन ड्युटी पोलिस अफिसर’को कान रगताम्य पारेको देख्दा सहन सकिन। देश भित्रै मधेस र मधेस भित्रै देशको होडबाजी मा काटिएको म एसएसपि लक्ष्मण न्यौपाने, पहाडीको हातबाट ओम्खरा खस्दा चौधरी आँगनमा रोकिने, भातृत्वमा बिष घोलेर रक्तपात मच्चाउने देशभक्तहरू सुरक्षाको नाममा कति नाङ्गिन र काटिनुपर्ने हो सुरक्षा व्यबस्थाले अझै? देशभित्रै दशगजा चाहिन्छ भनेर संसदमा कुर्सी हानाहान गरिरहँदा यति त सोच, सिङ्गो घरमा आगो लागिसकेपछि कुनै कोठा सुरक्षित रहन्न।
© कल्पना जोशी
धनगढी, कैलाली