Tuesday 19th March 2024
पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू।
हेरालाे खबर , कार्तिक १४ पाेखरा । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार कास्की र स्याङजाका एक–एक संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै क्रममा मृत्यु भएको हो । ती पुरुषमा १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ का ७० वर्षीय संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।
कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पुरुषको शुक्रबार विहान ०८ः३५ बजे मृत्यु भएको हो ।
यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २२ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।