Thursday 28th March 2024
विप्लव समूहका नेतालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन ।
हेरालाे खबर , फागुन २० काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि हुने गरेको धरपकडलाई तत्काल रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।
प्रतिबन्धित रहेको उक्त समुहसंग सरकारले वार्ता सुरु गरेसंगै गृहमन्त्रालयले प्रहरीलाई धरपकड नगर्न निर्देशन दिएको हो । मन्त्रालयका गृहसचिव महेश्वर न्यौपानेले उक्त समुहसंग सरकारले वार्ताका लागि समिति गठन गरे लगत्तै उक्त समुहका नेता तथा कार्यकर्तालाई धरपकड नगर्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
विभिन्न हिंसात्मक गतिविधिमा संलग्न हुने क्रम नरोकिएको भन्दै उक्त समुहलाई सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसंगै उक्त समुहका नेता तथा कार्यकर्तालाई प्रहरीले जुन स्थानमा भेट्यो सोही स्थानबाट पक्राउ गर्नेनीति अख्तियार गर्दै आइरहेको थियो ।
वार्ताका लागि सहमति जनाउनुभन्दा अगाडि नै विप्लव नेतृत्वको नेकपाले सरकारसंग आफ्नो समुहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने तथा विभिन्न आरोपमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने माग सरकार समक्ष राखेको थियो । वार्ताका लागि आउँदा विगतका समयमा जस्तो पक्राउ पर्ने आशंकाले उनीहरुले सुरक्षाको ग्यारेन्टीका लागि यस्तो माग राखेको अनुमान लगाइएको छ ।