
पोखरा, ८ पुष | टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आगामी माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा महिला र पुरुष तर्फ सात-सात गरी कुल १४ टोलीको सहभागिता रहने जानकारी दिए। यस पटक थाइल्याण्ड, माल्दिभ्स र भारतबाट विदेशी टोली सहभागी हुनेछन्।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही र थाइल्याण्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रनेछन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स र भारतबाट एक-एक टोली खेल्नेछन्।
प्रथम पुरस्कार रु ६ लाख ६६ हजार ६६६, द्वितीय रु ३ लाख ६६ हजार ६६६ र तृतीय रु १ लाख ६६ हजार ६६६ रहेको छ। सर्वोत्कृष्ट खेलाडीले रु २६ हजार ६६६ नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन्।
नेपाल भलिबल संघद्वारा स्वीकृत यो प्रतियोगिता FIVB नियमअनुसार सञ्चालन हुनेछ। प्रतियोगिता आयोजनामा करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय रेफ्रीहरू सहभागी हुनेछन्। दर्शकहरूका लागि रु ३५०० को अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश हुनेछ ।
#nayaphailu
#bibeklhengegurung
प्रतिक्रिया