हेरालाे खबर
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किंग्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवर्द्धनात्मक गतिविधि र प्रचार-प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्स किंग्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् 1

नेपाल भलिबल लिगमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर किंग्स र तनहुँ (गण्डकी प्रदेश) मा जन्मिएकी उषाबीचको यो सहकार्य विशेष र अर्थपूर्ण रहेको छ । भलिबल प्रेमीहरूको बलियो पकड रहेको गण्डकी क्षेत्र र सोही क्षेत्रकी छोरी उषाको आवद्धताले क्लबको ब्रान्ड विस्तार गर्न र खेलाडीलाई आफ्नो ग्रासरुटमा जोडिन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उषाले माल्दिभ्सका विभिन्न क्लबहरूबाट समेत व्यावसायिक भलिबल खेलिसकेकी छिन्, जहाँ उनको ठूलो फ्यान फलोइङ रहेको छ । सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट डेब्यु गरेकी उषाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको ६ वटा टोली सहभागी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर्स किंग्स र उषाको यो साझेदारीले समग्र नेपाली भलिबलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने क्लबको विश्वास छ ।
उषा भण्डारीको अन्तर्राष्ट्रिय खेल यात्रा र उपलब्धिहरूः
२०१९ (१३औं साग): रजत पदक (डेब्यु प्रतियोगिता)
२०२२ (एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन) च्याम्पियन (स्वर्ण पदक)
२०२३ (काभा वुमन्स च्यालेन्जर्स लिग) कांस्य पदक
२०२३ (१९औं एसियन गेम्स, चीन): सहभागिता
२०२४ (काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप) च्याम्पियन (नेपाल पुलिस क्लबबाट)
२०२४ (काभा वुमन्स नेसन्स लिग) रजत पदक
प्रतिक्रिया