logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    • Heralo Reporter Heralo Reporter
    • ३ कार्तिक २०८१ शनिबार
    रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    पोखरा , हेरालाे खबर

    पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई कहाँ र कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा सार्वजनिक भएको छैन । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले भिआइपी सुविधा पाउने बताइन्छ।

    पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्न प्रहरीले शुक्रबार नै कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । त्यसलगत्तै उनलाई रास्वपाको पार्टी कार्यालयबाट उनलाई पक्राउ गरिएको हो ।

    उनलाई राति नै पोखरा ल्याइएको हो । उनलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइएको थियो । त्यसअघि उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

    लामिछानेलाई आइतबार अदालत पेस गर्ने कास्की प्रहरीको तयारी छ । रास्वपाका समर्थकले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी र सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । साथै कास्की प्रहरी कार्यालय अगाडि पनि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए ।

    योसँगै सूर्यदर्शन सहकारीको रकम अपचलन गर्नेमाथि अनुसन्धान प्रक्रिया तीव्ररुपमा अघि बढेको छ । गत असोज ६ गते पक्राउ परेको पूर्वडीआइजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनलाई अदालतले शुक्रबार तेस्रो पटक २० दिनको म्याद थपिदिएको छ ।

    साथै सहकारी ठगी प्रकरणमा जोडिएका अन्य १६ जनालाई पक्राउ अनुमति दिएको छ । लामिछाने पक्राउ परेसँगै सूर्यदर्शन सहकारी पीडितले अब झिने आशा पलाएको बताएका छन् ।

    यता, पार्टी सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै रास्वपाका नेता कार्यकर्ता पोखरा आउनेक्रम शुरु भएको छ । केही स्थलमार्ग र केही हवाई मार्ग हुँदै पोखरा आउँदैछन् । देशभरबाट पार्टी कार्यकर्ता पोखरा आउने अनुमान गरिएको छ ।

    रास्वापका उपसभापति स्वर्णिम वाग्ले, उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछाने पोखरा आइसकेका छन् ।

    शुक्रबार पार्टीका विभिन्न तहका बैठक बसेर नेता कार्यकर्तालाई हाइअर्लटमा रहन निर्देशन दिइएको छ । पार्टीका नेता र कार्यकर्ता पोखरामा जम्मा भएर सभापति लामिछाने पक्राउको विरोध गर्ने तयारी छ । लामिछाने पक्राउपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP