logo
  • २३ कार्तिक २०८२, शनिबार | Sat, 08 Nov 2025
  • रवि लामिछानेमाथि कुनै दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    • Heralo Reporter Heralo Reporter
    • ११ कार्तिक २०८१ आईतवार
    रवि लामिछानेमाथि कुनै दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    पोखरा , हेरालाे खबर

    कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कुनै पनि दुर्व्यवहार नगरिएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ ।

    कास्की प्रहरीका सूचना अधिकारी एवं लामिछानेका अनुसन्धान अधिकृत डीएसपी वसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गरी यस विषमा स्पष्ट पारेका हुन् ।

    सामाजिक सञ्जालमा रविमाथि प्रहरीले अदालतमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको जस्ता भ्रामक र झूठा र अनुमानमा आधारित कपोलपल्पित भ्रमपूर्ण विचार टिकटकसहित सामाजिक सञ्जालमा आएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको हो ।

    हुँदै नभएका झूटा समाचारबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने भन्दै मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचनाको सम्प्रेषण गर्न, गराउन पनि प्रहरीले अनुरोध गरेको छ । प्रहरीले कानूनअनुसार नै अनुसन्धान गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

    सामाजिक सञ्जालमा गत कार्तिक ८ गते रविलाई म्याद थप्न अदालत लैजाँदा प्रहरी कर्मचारीले अभद्र व्यवहार गरेको बाहिर सम्प्रेषित भएको थियो । त्यतिमात्र होइन रविले आफूलाई हिरासतमा कुनै सेवा सुविधा नदिइएको भनेर न्यायाधीशसँग गुनासो गरेको भनेर हल्लासमेत फैलाइएको थियो ।

    रविसहित सहकारी ठगीमा पक्राउ परेकालाई ८ गते ७ दिनका लागि म्याद थपिएकामा तिहारका कारण अदालत नखुल्ने भएकाले आगामी २० गतेमात्र पेशी हुनेछ ।

    रविलाई थप बयानका लागि आज अदालत लगिएको थियो । उनको अघिल्लो मंगलबार र बुधबार पनि बयान भएको थियो ।

    रविमाथि सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि पक्राउ उर्जी जारी गरेको छ । रविमाथि अन्य तीन सहकारी रहेका जिल्लाबाट पनि पुर्जी जारी हुने सम्भावना छ ।

    रास्वपाले रविमाथि दमन भएको र सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । रास्वपाले पोखरा र काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ११ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP