हेरालाे खबर
देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ। बिहीबार काठमाडौंमा सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विन्दुमाया गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संञ्जिव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ र सहकोषाध्यक्षमा महाबिर गुरुङ चयन हुनुभएको छ। त्यस्तै विभिन्न सदस्य पदमा धनबहादुर गुरुङसहित अन्य प्रतिनिधिहरु चयन भएका छन्। पूर्वअध्यक्ष कमला गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो।

सपथग्रहणपछि अध्यक्ष बाबुराम गुरुङले जिटिनलाई सामूहिक सहकार्यका आधारमा अघि बढाउँदै नेपाली पर्यटन क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुरुङ सम्पदा मार्गको प्रवद्र्धन, पर्यटन मजदुरहरुको हित र समग्र आदिवासी जनजाति पर्यटन सर्किटको विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्धबहादुर गुरुङले हिमालबाट संकलित रोयल्टी केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड भइरहेको उल्लेख गर्दै पर्यटन पूर्वाधार विकासमा त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो।
यसै अवसरमा नेपाल पर्वतारोहण संघ का अध्यक्ष फुर गेल्जे शेर्पाले ‘जिटिन पर्यटन मजदुर कोष’का लागि आर्थिक सहयोग घोषणा गर्नुभयो। कार्यक्रममा ‘पर्यटनमा गुरुङ’ स्मारिकाको दोस्रो अंक सार्वजनिक गर्नुका साथै विभिन्न व्यक्तित्व, सञ्चारकर्मी र आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया