logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • बडादशैं शुरु : आज घटस्थापना, बिहान ९ः१६ बजे उत्तम साइत

    • Heralo Reporter Heralo Reporter
    • १७ आश्विन २०८१ बिहीबार
    बडादशैं शुरु : आज घटस्थापना, बिहान ९ः१६ बजे उत्तम साइत

    पोखरा , हेरालाे खबर 

    आजबाट नेपालीको महान चाड बडादशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । घटस्थापनाको उत्तम साइत आज बिहाज ९ः१६ बजे रहेको छ । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

    शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

    आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन् । यी चार नवरात्रमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकका लागि उपयोगी मानिन्छन् । चैत्रशुक्ल र आश्विनशुक्लपक्षमा आम मानिसले शक्तिको आराधना गर्ने गर्दछन् ।

    नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ ।

    सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । जुन-जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।

    दशैं आश्विनशुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

    पूजा गर्दा नौ दिनसम्म कुन-कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ ।

    वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।

    सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ ।

    यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP