logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • गुरुङ सम्पदा पदमार्गको शुभारम्भः सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङद्वारा उद्घाटन

    • heralokhabar heralokhabar
    • ९ भाद्र २०८१ आईतवार
    गुरुङ सम्पदा पदमार्गको शुभारम्भः सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङद्वारा उद्घाटन

     

     

    हेरालो खबर

    काठमाडौं । दिनप्रतिदिन बढ्दो सडक सञ्जालको विकाससंगै पर्यटकीय पदमार्गहरु छोटिदै र खुम्चिदैं गएका छन् । विगतमा महिनौ लाग्ने पदमार्गहरु आजभोली तीन, चार दिनमै सिमित हुन थालेका छन् । यसरी छोटिदौं पदमार्गमा नयाँ आशा लिएर आएको छ ‘गुरुङ सम्पदा पदमार्ग’ । विश्वको उत्कृष्ट मध्येको अन्नपूर्ण चक्रीय पदमार्गलाई पुनः ब्यूताउन सकिने संभावनासंगै यस पदमार्गको शुभारम्भ भएको छ ।

     

    यस पदमार्गको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्नुभयो । ‘गुरुङ सम्पदा पदमार्ग’ को शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले यो पदमार्ग जस्तै धेरै गदमार्गहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । गाउँका सबै ठाउँमा पदमार्ग निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री गुरुङले यस्ता पदमार्ग निर्माण गर्न सके धेरै लाभ लिन सकिने बताउनुभयो ।

     

    मन्त्री गुरुङले विगतलाई स्मरण गर्दै भन्नुभयो, ‘पहिले एक महिनाको टे«ेकिङ हुन्थ्यो अहिले तीन,चार दिनमा सकिन्छ । अहिले शुभारम्भ भएको यो गुरुङ सम्पदा पदमार्ग आफैमा महत्वर्पूण ठाउँ हो । उहाँले भन्नुभयो, ‘यो पदमार्गमा स्थानीयको सक्रीयता आबश्यक छ । यो पदमार्गबाट स्थानीयले लाभ लिन सक्नुपर्दछ ।’ यस पदमार्गले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा आफु विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

     

    कास्कीको मादी गाउँपालिकामा पर्ने तोनीनासा (ताङतिङ) शुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेपछि पूरा हुनेछ । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशको अगुवाई तथा आयोजनामा जीटीन केन्द्रको सहभागितामा उक्त पदमार्गको गत जेठ २१ देखि ३० गते खोज तथा अनुसन्धान सम्पन्न भएको थियो ।

     

    पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न भएपछि जिटिन गण्डकीको आयोजनामा गुरुङ सम्पदा पदमार्गको पहिलो पटक पोखरामा सार्वजनिकीकरण गरिएको थियो । जिटिन केन्द्रको तर्फबाट भने शुक्रबार गुरुङ सम्पदा पदमार्गको शुभारम्भ कार्यक्रमको आयोजना गरिएको हो ।

     

    पदमार्ग शुभारम्भ कार्यक्रममा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ, वित्त आयोगका सदस्य माननीय जुद्धबहादुर गुरुङ, पर्यटन विभागका निर्देशक राकेश गुरुङ, जीटीन केन्द्रका अध्यक्ष पिताम्बर गुरुङ र जीटीन गण्डकीका संस्थापक अध्यक्ष तथा पदमार्ग खोज तथा अनुसन्धानका संयोजक बोबरजंग गुरुङजीले पदमार्गको नक्सा संयुक्त रुपमा विमोचन गर्नुभयो । नक्सा जीपिएस एक्सपर्ट तथा जीटीनका सदस्य सञ्जीव गुरुङले तयार पार्नुभएको हो ।

     

    कार्यक्रमममा पदमार्गको खोज तथा अनुसन्धानमा संलग्न रहनुभएका अग्रज पत्रकार खिम घलेले पदमार्गबारे श्रब्यदृश्य सामाग्री प्रस्तुत गर्नुभएको थियो । ।

     

     

    पदमार्गको ऐतिहासिक पक्ष

     

    यस पदमार्गले दुई वटा ऐतिहासिक विरासत बोकेको छ । पहिलोः यस पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमू (गुरुङ) का पूर्खहरु अहिलेको बस्तीहरुमा फैलिएको भन्ने भनाई रहेको छ । यस भनाई गुरुङको पेले मात्र हाृेइन, क्होलासोंथरमा विभिन्न चरणमा देशी तथा विदेशी बिशेषज्ञहरुले गरेको पुरातात्विक अध्ययनहरुले पनि प्रमाणित गरिसकेको छ । क्होलाको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपका विकास गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिने छ ।

     

    त्यसै गरी दोस्रो ऐतिहासिक विरासतको रुपमा कास्की र लमजुङका गुरुङ गाउँहरुमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथाहरु सुन्न पाइन्छ । अहिले खोज तथा अनुसन्धान कार्य गरिएको गुरुङ सम्पदा पदमार्ग नै उक्त नुनको व्यापारिक बाटो रहेको कुरा पनि उजागर भएको छ । अझै पनि पदमार्गमा भेटिने लामा लामा विसौनी चौतारीहरु त्यही नुनको व्यापारिक मार्गको साक्षी बनिरहेका छन् ।

     

    भौगोलिक अबस्था र प्राकृतिक सुन्दरता

     

    यस पदमार्गको भौगोलिक अबस्था पहाडी, उच्च पहाडी तथा हिमाली क्षेत्र रहेको छ । करिब १६०० मिटरको उचाइमा रहेको ताङतिङबाट सुरु हुने पदयात्राको उच्च विन्दु भनेको गुरुङ देउराली (नामुन भञ्ज्याङ) ४९१० मिटरको उचाइमा रहेको छ । ताङतिङ पछिको सबै बासहरु ३ हजार मिटरभन्दा माथिको उचाइमा हुन्छ । यस पदमार्गमा प्रशस्त मात्रमा खोलाहरु तथा मनोरम पोखरीहरु भेटिन्छन् । त्यसमध्ये ४५८५ मिटरको उचाइमा रहेको अध्यात्मिक दुधपोखरी महत्वपूर्ण रहेको छ । ठाडै उकालो र ओरालो कमै मात्र रहेको यस पदमार्गमा ठूला ठूला खर्क र पाटनहरु रहेका छन् । साथै यस पदमार्गबाट विभिन्न हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । विशेष गरेर अन्नपूर्ण, माच्छपुछ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुलगायतका हिमालय श्रृंखलाहरुलाई नजिकैबाट अवलोकन गर्न सककिन्छ ।

    ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु

    यस पदयात्राको अर्को महत्वपूर्ण पक्ष भनेको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । यस पदमार्गको प्रवेश विन्दू र समाप्तिमा गुरुङ गाउँहरु पर्दछन् । ती गाउँहरुमा घरवासहरु सञ्चालनमा रहेका छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समुहका नाचहरु प्रचलनमा रहेका छन् । त्यसका साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि पर्यटकको लागि आकर्षणको रुपमा रहेका छन् ।

     

    त्यति मात्र होइन, माथि नै चर्चा गरिएको गुरुङ समुदायको पूर्खाहरु यही बाटो भएर अहिलेको स्थानहरुमा आएको हुँदा त्यससँग सम्बन्धित स्थान तथा किंबन्दतीहरु प्रशास्त मात्रमा सुन्न र हेर्न पाइन्छ । त्यसै मध्येको सबैभन्दा पछिल्लो अदिम बस्तीको रुपमा क्होलासाेंथर पुरातात्विक रुपमा नै प्रमाणित स्थान हो । त्यस्तै गरेर परापूर्वकालमा मनाङ भोटको नुन बोक्ने बाटो पनि यही हो । उक्त नुन व्यापारसँग जोडिएका कथाहरु तथा त्यस बेला बनेका धर्मशाला र बिसौनीका भग्नावशेषहरुले इतिहासलाई बोकेको छ । यति मात्र होइन, यो पदमार्गमा कास्की, लमजुङ र मनाङका भेडा, गाई, भैसी तथा चौरीको गोठ बस्ने खर्कहरु रहेका छन् । गोठालाहरुको रहन सहन पनि यस पदमार्गमा देख्न र अनुभव गर्न पाइने साँस्कृतिक पक्ष हुन् ।

     

     

    धनी जैविक विविधता

    यो पदमार्ग जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र गरी तीनै तहको उचाइ र हावापानीमा पाइने बनस्पति, जीवजन्तु तथा चराचुरुंगीहरु यस पदमार्गका आकर्षण हुन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने उच्च औषधीय गुणयुक्त यार्सागम्ब, जटामसी, सतुवा, पाँच आंैले, वन लसुन जस्ता जडिबुटीहरु यस पदमार्गमा प्रशस्त पाइन्छन् । साथै बाटैभरी भेटिने हावापानी अनुसारका लाली गुरासलगायतका लेकाली फुलको सुगन्धले मनै प्रफुल्ला बनाउँछ । त्यसै गरेर डाँफे, मुनाललगायतका चराचुरुङ्गीहरुको पदमार्गको अर्को आकर्षण हुन् । चराहरुको चिरविर सुन्दै जंगल, खर्क र हिमाली समथर पाटनहरुमा यात्रा गर्न पाइन्छ ।

     

    पहिचान गरिएका पदमार्ग

    गुरुङ सम्पदा पदमार्ग खोज तथा अनुसन्धान टोलीले एउटा मूल पदमार्ग र एक दर्जन भन्दा बढी आवश्यकता र चाहना अनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरुको पहिचान गरेको छ । त्यसमा ५ दिनदेखि १० दिनसम्मका पदमार्गहरु रहेका छन् ।

     

    पोखराबाट पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपुडाँडा, तप्रो, क्होलासोंथर, ठूलेक, थुर्जु, दुधपोखरी, गुरुङ देउराली (नामुन पास), डाँफेखर्क हुँदै मनाङको तिमाङ पुगेर सकिने पदमार्गलाई मुख्य पदमार्गको रुपमा पहिचान गरेको छ । यसमा साथै यही पदमार्गमा कास्कीका सिक्लेस, याङ्जाकोट, नागिधार, थाकलगायतका गाउँहरु तथा लमजुङको घलेगाउँ, घनपोखरा, भुुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राङ, टक्सार, सिउरुङलगायतका गाउँहरुबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँहरुमा आवश्यकता र चाहना अनुसार समाप्त गर्न सकिने छाटो तथा लामो दुरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।

     

    पदमार्गमा गर्न सकिने अन्य गतिविधिहरु

    यस पदमार्गलाई पदयात्राको लागि मात्र होइन, अन्य साहसिक पर्यटकीय गतिविधिहरु पनि विकास गर्न सकिने प्रशस्त संभावना रहेको छ । पोखराको सारङकोटबाट भइरहेको सोलो प्याराग्लाइडिङ नयाँ एयरपोर्ट बनेपछि हवाई मार्गका कारण बिस्थापित भएको छ । उपयुक्त स्थानको अभावमा ती गतिविधिहरु भारतको हिमाञ्चल प्रदेशतिर स्थानन्तरण भएका छन् । त्यसलाई फर्काउनको लागि यसै पदमार्गमा पर्ने क्रपुडाँडा उपयुक्त हुने कुरा प्याराग्लाइडिङको क्षेत्रमा काम गरिरहेकाहरुले सुझाएका छन् ।

     

    त्यसैगरी ठूलेक लगायतका हिउँदमा बाक्लो हिउ पर्ने विशाल हिमाली पाटनहरुमा स्की खेलको संभावनालाई पनि अध्ययन गरिनु पर्ने टोलीका सदस्यहरुको भनाई रहेको छ । साथै पदमार्ग संगै जोडिएर विभिन्न स्थानमा ६ हजार मिटरभन्दा कम उचाई दर्जनौं हिमालहरु रहेकाले त्यस्ता हिमालय पीकहरुमा आरोहण तालिमको संभावना रहेको पनि निक्र्यौल निकालेको छ ।

     

    पदमार्गको विकास तथा प्रवद्र्धनका लागि सिफारिसहरुः

    गुरुङ सम्पदा पदमार्गको विकास तथा प्रवद्र्धनका लागि खोज तथा अनुसन्धान टोलीले निम्न अनुसार सिफारिसहरु गरेको छः

    · पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुमा पर्न सक्ने नकरात्मक असरहरुलाई मध्यनजर गरी बिस्तृत गुरु योजना बनाएर त्यसै अनुसार पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुृ पर्दछ ।

    · संघ, प्रदेश र स्थानीय तीनै सरकारले यस पदमार्गमा भविश्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु पर्दछ ।

    · यस पदमार्गको केही स्थानहरुमा बाटो मर्मत गर्नुपर्ने, केही खोलाहरुमा झुलुङ्गे पुल हाल्नु पर्ने, केही स्थानहरुमा बाटोमा रेलिंग हाल्नु पर्ने देखिएकोले त्यसतर्फ यथाशिघ्र स्रोतको व्यवस्थापन गर्नु पर्दछ ।

    · यस पदमार्गमा सञ्चार सञ्जालको अभाव रहेको हुँदा तत्काल टेलिफोन टावरहरुको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले एकातिर पदयात्रीहरुको सुरक्षा र आवश्यक पर्दा उद्धारमा सघाउ पु¥याउने छ भने अर्कोतिर स्थानीय गोठालाहरुको जीवनलाई पनि सहज बनाउने छ ।

    · यस पदमार्गमा होटलहरुको व्यवस्था नभएको कारण सेल्टर हाउसहरु बनाउनु पर्ने देखिएको छ । त्यस्ता सेल्टर हाउसहरु हावापानी र स्थानीय संस्कृति अनुरुपमा बनाउनु पर्दछ ।

    · पदमार्गको सूचना पाटीहरु कतिपय विग्रिए भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरु, पथप्रदर्शन गर्ने पोलहरुलाई मर्मत तथा नयाँ स्थापना गर्नु पर्दछ ।

    · जलवायु परिवर्तनलगायतका विभिन्न कारणहरुले गर्दा पानीका मुहानहरु सुक्ने तथा भएको मुलहरु पनि सानो भएको हुँदा ती मुलहरुको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नु पर्दछ ।

    · पदमार्गमा रहेका क्होलासोंथरलगायतका पुरातात्विक महत्वका क्षेत्रहरुको उत्खनन् र संरक्षणको लागि विशेष ध्यान दिइनु पर्दछ । त्यस क्षेत्रमा रहेका पुरातात्विक बस्तुहरुको सुरक्षाका लागि बिशेष पहल गरिनु पर्दछ ।

    · पदमार्गको प्रवेश विन्दूको रुपमा रहेका गाउँहरुमा रहेको साँस्कृतिक अवयवहरु लोप हुने अवस्थामा रहेको हुनले तिनीहरुको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नु पर्दछ । भीर माउरीको मह काढ्ने, राडीपाखीहरु बुन्ने तथा पशुपालनलायतका परम्परागत पेशा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नको लागि पहल थाल्नु पर्दछ ।

    · पदमार्गमा पशु चौपायहरु हिंडेमा त्यसले पदमार्गलाई छिटो विगार्ने भएकोले पशु चौपायहरुको लागि छुट्टै बाटोको व्यवस्था गर्नु पर्दछ ।

    · स्थानीय गाउँ बस्तीका बासिन्दाहरु तथा पदमार्ग क्षेत्रमा रहने गोठका गोठालाहरुलाई पर्यटकमैत्री बनाउने लगायतका क्षमता अभिबृद्धिका लागि तालिमहरुको व्यवस्था गर्नु पर्दछ ।

    · पदमार्गको प्रवद्र्धनका लागि समय समयमा व्यवसायी, पथप्रदर्शक तथा सञ्चारकर्मीहरु सम्मिलित जानकारीमूलक अवलोकन भ्रमण गराउनु पर्दछ ।

     

     

     

     

     

     

     

     



    heralokhabar heralokhabar    
  • ९ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP