logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • तमू संघ संस्थालाई नागरिक पत्रकारिता तालिम : ‘मोबाइल नै नागरिक पत्रकारको ब्रह्मास्त्र’

    • heralokhabar heralokhabar
    • २८ बैशाख २०८२ आईतवार
    तमू संघ संस्थालाई नागरिक पत्रकारिता तालिम : ‘मोबाइल नै नागरिक पत्रकारको ब्रह्मास्त्र’

    तमू संघ संस्थालाई नागरिक पत्रकारिता तालिम : ‘मोबाइल नै नागरिक पत्रकारको ब्रह्मास्त्र’

    हेरालाे खबर

    काठमाडौँ । तमू (गुरुङ) सञ्चारकर्मी संघले काठमाडौँमा नागरिक पत्रकारिता संवाद कार्यक्रम आयोजना गरेको छ ।

    आदिवासी जनाजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा तमू बौद्ध सेवा समिति नेपाल, अनामनगरको डा. हर्क सभाकक्षमा सम्पन्न कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत करिब दुई दर्जन तमू संघ–संस्थाका पदाधिकारी एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

    अग्रज पत्रकार खिम घलेले अहिले सूचना प्रविधिको क्षेत्रमा भएको विकासले प्रत्येक नागरिकलाई पत्रकार बन्न सम्भव बनाएको बताउनु भयो । ‘अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ’, उहाँले भन्नुभयो, ‘त्यो मोबाइल नै नागरिक पत्रकारको ब्रह्मास्त्र हो ।’ अहिले प्रत्येक व्यक्तिले आफ्नो मोबाइलबाट फोटो, भिडियो आदि खिचेर समाचारमुलक सूचना तत्काल सोसल मिडियामा पोष्ट गर्न सक्छन् । ‘नागरिक पत्रकार बन्न समाचारका विषयवस्तु छनौट र समाचार हुन चाहिने तत्वबारे ज्ञान चाहिँ हुन आवश्यक छ,’ घलेले भन्नुभयो, ‘त्यो ज्ञान भएन भने चाहिँ सूचना अधुरो अपुरो आउँछ ।’

    तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँका अध्यक्ष मनिराज गुरुङले नागरिक पत्रकारिता सबैका लागि आवश्यक भए पनि संघ–संस्थाका महासचिव, सचिव आदि पदको जिम्मेवारीमा रहेकालाई बढी आवश्यक देखिएकाले संघले उपत्यकामा कार्यरत तमू संघ–संस्थालाई सहभागीका रूपमा आमन्त्रण गरिएको बताउनु भयो । ‘पहिले मिडिया भन्नाले पत्रपत्रिका, टेलिभिजन आदि प्रकाशन र प्रसारण माध्यमलाई बुझिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले सोसल मिडिया सबैभन्दा शक्तिशाली हुँदै गएको छ । त्यसैले सोसल मिडियाले सबैलाई नागरिक पत्रकार बन्न सम्भव भएको छ ।’ संघ–संस्थाका महासचिव वा सचिवलाई कम्तीमा पत्रकारिताको सामान्य ज्ञान भयो भने आफ्नो संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधि समाचारको शैलीमा पोष्ट गर्न सक्ने उहाँको भनाइ छ ।

    सेतोपाटी अनलाइनका फोटो तथा भिडियो पत्रकार नवीनबाबु गुरुङले समाचारमा फोटो अत्यन्तै महत्वपूर्ण हुने बताउनु भयो । ‘समाचारमा एउटै फोटोले हजारौँ शब्दको काम गर्छ,’ उहाँले भन्नुभयो, ‘तर विषयवस्तु बन्न सक्ने फोटो छनौट कसरी गर्ने भन्ने ज्ञान चाहिँ हुनुपर्छ ।’ समाचारको विषयवस्तु छनौट गर्ने ज्ञान भए पनि राम्रो फोटो र भिडियो खिच्ने प्राविधिक सिप भएन भने त्यसको कुनै अर्थ नहुने भन्दै उहाँले सहभागीहरूलाई आइफोन, एन्ड्रोइड मोबाइलमा कसरी राम्रो फोटो र भिडियो खिच्ने भन्ने विषयमा छोटो प्राविधिक सिप पनि सिकाउनु भएको थियो ।

    नागरिक पत्रकारिता संवाद कार्यक्रममा सहभागी संखुवासभा तमू समाज सेवा समिति काठमाडौँका महासचिव भीम गुरुङले कार्यक्रमबाट आफूले धेरै सिक्न पाएको भन्दै महासचिवको हैसियतले आफ्नो समाजको फेसबुक पेज तथा म्यासेन्जर ग्रुपमा संस्थाको सूचना तथा गतिविधिलाई सरल भाषामा पूर्ण जानकारीसहित पोष्ट गर्न आजको कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

    आँधीखोला तमू समाजका प्रचार सचिव रम गुरुङले आफूलाई करिब आधा दर्जन संघ–संस्थाको पेज अपडेट गर्नुपर्ने जिम्मेवारी रहेको स्मरण गर्दै ती पेजहरूमा पोष्ट गरिने सूचना तथा गतिविधिका भाषा तथा जानकारीको प्राविधिक पक्षका बारेमा धेरै कुरा सिक्ने पाएको बताउनु भयो ।

    तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिका महासचिव चित्र गुरुङले सञ्चालन गर्नुभएको पहिलो चरणको औपचारिक कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य गीता गुरुङ रहनुभएको भएको थियो भने अध्यक्षता केन्द्रीय समितिका अध्यक्ष  लाला गुरुङले गर्नुभएको थियो



    heralokhabar heralokhabar    
  • २८ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP