हेरालो खबर
भक्तपुर । भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी संगीत महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ। लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी मंसिर १२ गते (नोभेम्बर २८, २०२६) भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार ‘म्युजिक जात्रा–ख्वप’ केवल सांगीतिक कन्सर्टमा सीमित नरही संगीत, संस्कृति, स्थानीय कला, खानपान, जीवनशैली र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा जोड्ने पूर्ण महोत्सवका रूपमा आयोजना गरिनेछ। महोत्सवमा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारको लाइभ संगीत, खाना तथा लाइफस्टाइल स्टललगायतका गतिविधि रहनेछन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालका लोकप्रिय संगीतकर्मी कुमा सागर र ‘ख्वप ब्यान्ड’ पहिलोपटक भक्तपुरको मञ्चमा प्रस्तुत हुने आयोजकले जनाएको छ। आफ्नै माटोमा फर्किएर गरिने ‘होमकमिङ कन्सर्ट’का रूपमा लिइएको कुमा सागरको प्रस्तुति भक्तपुरका संगीतप्रेमीका लागि विशेष रहने अपेक्षा गरिएको छ।
कुमा सागरसँगै ‘मुक्ति एन्ड रिभाइभल’, निभाः डंगोल तथा चम्बती जुबु लगायतका कलाकार तथा संगीत समूहले पनि प्रस्तुति दिनेछन्। महोत्सवको टाइटल प्रायोजक एक्सट्रिम ईनर्जी ड्रिङ्क रहेको छ।
टिकट होइन निशुःल्क, सामाजिक उत्तरदायित्वको प्रवेश
आयोजकका अनुसार महोत्सवमा प्रवेश पूर्णरूपमा निःशुल्क हुनेछ। तर प्रत्येक दर्शकले प्रवेशका लागि एक्सट्रिम ईनर्जी ड्रिङ्क को एउटा खाली क्यान ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यसले कार्यक्रमलाई वातावरणीय तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।

महोत्सवबाट संकलन हुने रकमको महत्वपूर्ण हिस्सा भक्तपुरमा लामो समयदेखि अपाङ्गता भएका बालबालिकाको पुनर्स्थापना तथा सिकाइका क्षेत्रमा काम गर्दै आएको सामुदायिक पुनर्स्थापना संस्था CBRO, भक्तपुरलाई प्रदान गरिनेछ। आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त हुने कुल नाफाको ५० प्रतिशत रकम सीधै CBRO लाई हस्तान्तरण गरिनेछ। त्यसैगरी डिजिटल दान प्लेटफर्ममार्फत संकलन हुने सम्पूर्ण प्रत्यक्ष दर्शक दानसमेत CBRO लाई प्रदान गरिनेछ।

१९८५ देखि अपाङ्गता भएका बालबालिकाको सेवामा CBRO
CBRO ले सन् १९८५ देखि भक्तपुरमा अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ तथा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आएको छ। संस्थाले अपाङ्गता भएका बालबालिका तथा परिवारलाई आवश्यक सहयोग, सिकाइ, पुनर्स्थापना र सामाजिक समावेशीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको आयोजकले जनाएको छ।
महोत्सवमार्फत आर्थिक सहयोग जुटाउनुका साथै CBRO ले गर्दै आएको कामका बारेमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ। आयोजकले संगीत र मनोरञ्जनलाई सामाजिक सेवासँग जोडेर समुदायका लागि दीर्घकालीन प्रभाव पार्ने अभियानका रूपमा ‘म्युजिक जात्रा–ख्वप’लाई अघि बढाउन खोजिएको जनाएको छ।
स्थानीय कला, संस्कृति र परिकारको प्रवर्द्धन
महोत्सवमा सांगीतिक प्रस्तुतिसँगै भक्तपुरको मौलिक कला, संस्कृति, हस्तकला, स्थानीय परिकार तथा जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न स्टलसमेत राखिनेछन्। यसबाट स्थानीय कलाकार, व्यवसायी, उद्यमी तथा परिकार व्यवसायीलाई आफ्नो सिर्जना र उत्पादन प्रदर्शन गर्ने अवसर मिल्ने आयोजकको विश्वास छ।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई आधुनिक संगीत र युवामैत्री कार्यक्रमसँग जोडेर नयाँ पुस्तालाई आफ्नो संस्कृति र सम्पदासँग जोड्ने प्रयाससमेत महोत्सवले गर्ने जनाइएको छ।
३० हजारभन्दा बढी दर्शक आउने अपेक्षा
आयोजकले महोत्सवमा ३० हजार वा सोभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ। ठूलो संख्यामा संगीतप्रेमी तथा सर्वसाधारणको सहभागिता रहने भएकाले भक्तपुरमा हुने सांगीतिक कार्यक्रममध्ये यो महोत्सव विशेष बन्ने आयोजकको दाबी छ।
आयोजकका अनुसार ‘म्युजिक यात्रा–ख्वप’लाई एकपटकको कार्यक्रमका रूपमा मात्र सीमित नगरी हरेक वर्ष संगीत, संस्कृति र अर्थपूर्ण सामाजिक सेवाबीच सम्बन्ध स्थापित गर्ने अभियानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमका मुख्य उद्देश्य
महोत्सवले मुख्य रूपमा CBRO का लागि कोष संकलन गर्ने, संस्थाले गर्दै आएको सेवाका बारेमा जनचेतना फैलाउने, भक्तपुर र आसपासका नागरिकलाई गुणस्तरीय निःशुल्क सांस्कृतिक तथा सांगीतिक कार्यक्रम उपलब्ध गराउने, स्थानीय कला–शिल्प, संगीत तथा परिकारको प्रवर्द्धन गर्ने र भक्तपुरका स्थानीय प्रतिभा तथा कलाकारको सम्मान गर्ने उद्देश्य लिएको छ।
आयोजकले महोत्सवलाई सफल बनाउन संगीतप्रेमी, कलाकार, सञ्चारकर्मी, व्यवसायी, प्रायोजक तथा आम नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
‘म्युजिक जात्रा–ख्वप’को मूल सन्देश मनोरञ्जनसँगै सामाजिक जिम्मेवारी हो। संगीतको माध्यमबाट समुदायलाई जोड्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा, पुनर्स्थापना र भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवले भक्तपुरको सांस्कृतिक पहिचानलाई समेत राष्ट्रियस्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।
दर्शकलाई व्यवस्थित बनाउने
यस पटक आयोजकले कार्यक्रम हेर्न आउने दर्शकहरुको लागि विशेष व्यवस्था गर्ने भएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई छुटै बस्ने व्यवस्था समेत गर्ने आयोजकले बताएको छ ।
प्रतिक्रिया