logo
  • २९ आश्विन २०८३, बिहीबार | Thu, 15 Oct 2026
  • तनहुँको पुर्कोटगढीमा विविध कार्यक्रम गरि बडादसैँ मनाउँदै

    • heralokhabar heralokhabar
    • २९ आश्विन २०८३ बिहीबार
    तनहुँको पुर्कोटगढीमा विविध कार्यक्रम गरि बडादसैँ मनाउँदै

    हेरालो खबर
    तनहुँको । पुर्कोट कालिका क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण एवं बडादसैँ विशेष कार्यक्रम गर्ने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत श्री कोट घर कालिका सांस्कृतिक सम्पदा संरक्षण समिति पुर्कोटगढी आयोजकले जनकारी दिएको हो ।
    श्री कोट घर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा साबिक गाउँ पञ्चायत सात सय पुर्कोट, हाल भानु नगरपालिका–७, ८ र ९ को शिरमा अवस्थित ऐतिहासिक कोट गढी तथा पुर्कोट कालिका क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा समग्र विकास गर्ने उद्देश्यले आगामी बडादसैँको पावन अवसरमा विभिन्न धार्मिक, सांस्कृतिक, खेलकुद तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिँदै छन्।
    यी कार्यक्रमहरू केवल उत्सव र मनोरञ्जनमा सीमित नभई पुर्खाहरूले संरक्षण गर्दै आएका ऐतिहासिक धरोहर, धार्मिक आस्था, मौलिक परम्परा, सामाजिक सद्भाव तथा सामुदायिक एकतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा आयोजना गर्न लागिएको हो।
     पुर्कोटगढीको ऐतिहासिक पृष्ठभूमि तथा महत्त्व
    गण्डकी प्रदेशको तनहुँ जिल्लामा अवस्थित पुर्कोटगढी नेपालको ऐतिहासिक, सामरिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हो। साबिक तनहुँ राज्यको राजधानी तनहुँसुरदेखि पूर्वतर्फ र मर्स्याङ्दी नदीदेखि पश्चिमतर्फ अवस्थित पुर्कोटको डाँडा प्राचीन समयमा तनहुँ राज्यको सुरक्षा तथा सामरिक व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण किल्लाका रूपमा रहेको ऐतिहासिक विवरण पाइन्छ। मर्स्याङ्दी नदी र पुर्कोटको भौगोलिक अवस्थिति तनहुँसुरको सुरक्षासँग जोडिएको थियो। ऐतिहासिक विवरणअनुसार गोरखाका राजा पृथ्वी पति शाहका छोरा वीरभद्र शाहले तनहुँकी राजकुमारीसँग विवाह गरेका थिए। पारिवारिक परिस्थितिका कारण वीरभद्र शाहकी गर्भवती रानी माइती तनहुँमा आएर बसेको र उनको बसोबासको व्यवस्था पुर्कोटमा मिलाइएको जनश्रुति तथा ऐतिहासिक विवरण पाइन्छ। यही पुर्कोटमा नरभूपाल शाहको जन्म भएको मानिन्छ।
    वीरभद्र शाहको निधनपछि गोरखाको राजगद्दीसम्बन्धी परिस्थितिमा पुर्कोट जनताको भूमिका महत्त्वपूर्ण रहेको विवरण पनि पाइन्छ। नरभूपाल शाहलाई डोलामा राखेर गोरखा दरबारमा पुर्‍याई राजा बनाइएको परम्परासँग पुर्कोटको ऐतिहासिक सम्बन्ध जोडिन्छ।
    यही ऐतिहासिक सम्बन्धका कारण पुर्कोटबाट गोरखाको कालिका मन्दिरमा फूलपाती लैजाने परम्परा विशेष महत्वको मानिन्छ। बडादसैँको फूलपातीका दिन पुर्कोटबाट फूलपातीको डोली गोरखा लैजाने र त्यसलाई भित्र्याएपछि मात्र अन्य स्थानको फूलपाती भित्र्याउने परम्परा रहेको ऐतिहासिक जनविश्वास छ।
    यस परम्पराले पुर्कोट र गोरखाबिचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जीवन्त राखेको छ। यस ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित अभिलेखीकरण तथा प्रामाणिक ऐतिहासिक अनुसन्धान आजको आवश्यकता हो।
    कोटगढीमा प्रचलित मौलिक ‘बाष्टे’ परम्परा
    पुर्कोटगढीमा नवरात्र तथा बडादसैँका अवसरमा प्रचलित ‘बाष्टे’ बस्ने परम्परा यहाँको विशिष्ट मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान हो। यो परम्परा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ र स्थानीय समुदायको धार्मिक आस्था, अनुशासन, सामाजिक सम्बन्ध तथा सामूहिक जिम्मेवारीसँग गहिरो रूपमा जोडिएको छ।
    परम्परागत रूपमा घटस्थापनादेखि दशमीसम्म बाष्टे बस्ने चलन रहेको पाइन्छ। समय क्रममा यसको अवधि परिवर्तन हुँदै हाल फूलपातीको दिनदेखि दशमीको बिहान फूलपाती सेलाएपछि बाष्टे विसर्जन गर्ने प्रचलन रहेको छ। बाष्टे विसर्जन गरेपछि मात्र दसैँको टीका लगाउन सुरु गर्ने परम्परा छ।
    बाष्टे बस्ने व्यक्तिहरूले नवरात्रभरि तोरीको तेलबाट दियो–बत्ती बालेर देवीदेवताका नाममा अखण्ड ज्योति जगाइराख्ने चलन रहेको छ। परम्परागत मान्यताअनुसार व्रतबन्ध भई जनै धारण गरेका क्षेत्री समुदायका व्यक्तिले बाष्टे बस्ने प्रचलन रहेको छ। बाष्टे बस्ने व्यक्तिले दिनमा एक छाक मात्र भोजन गर्ने तथा भोजनअघि र पछि घरमै बुनेका सफा र चोखा कपडा प्रयोग गर्ने परम्परा पनि रहेको छ।
    यसै गरी, देवी निम्त्याउने टालोमा एक माना चामल र एक पैसा वा पाँच पैसा राखेर पोको पार्ने, उक्त पोको काब्रेटारस्थित चौतारामा एउटै रुखमा उम्रिएका आँप, बेल, बर र पीपलका हाँगामा झुन्ड्याउने तथा त्यसपछि मर्स्याङ्दी नदीमा स्नान गरी उक्त सामग्री कोटगढीमा ल्याउने परम्परा रहेको विवरण पाइन्छ। त्यसरी ल्याइएको चामलबाट टीका तथा अक्षता प्रयोग गर्ने र दशमीको टीकामा समेत सोही चामल प्रयोग गर्ने चलन रहेको थियो।
    पहिले बाष्टे बस्ने क्रममा लाग्ने खर्च सरकारी मिडोबाट व्यहोर्ने गरिएको बताइन्छ। उक्त व्यवस्था बन्द भएपछि बाष्टे बस्ने अवधि घट्दै आएको र हाल यससँग सम्बन्धित खर्च स्थानीय समाजले नै व्यहोर्दै आएको छ।
    स्थानीय सामाजिक परम्पराअनुसार महत गाउँमा जुठो परेमा काफलस्वाराका दुई गाउँमध्येबाट बाष्टे बस्ने र काफलस्वाराका दुवै गाउँमा जुठो परेमा मात्र पुवार गाउँबाट बाष्टे बस्ने चलन रहेको पाइन्छ। यसले धार्मिक आस्थासँगै गाउँ–समुदायबिचको आपसी सम्बन्ध, सहकार्य र सामाजिक जिम्मेवारीलाई समेत उजागर गर्दछ।
    कोट गढीको ‘बाष्टे’ परम्परा केवल धार्मिक अनुष्ठान मात्र नभई यहाँको मौलिक संस्कृति, ऐतिहासिक निरन्तरता, सामाजिक एकता र सामुदायिक पहिचानको महत्त्वपूर्ण प्रतीक हो। त्यसैले यस परम्पराको विस्तृत अभिलेखीकरण, अध्ययन, अनुसन्धान तथा भावी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो।
    ३। बडादसैँ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम
    ‘स्वास्थ्य, संस्कृति, एकता र उत्सव’ भन्ने मूल भावनाका साथ यस वर्षको बडादसैँको अवसरमा निम्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
     फूलपाती विशेष धार्मिक कार्यक्रम असोज ३० गते, शुक्रवार बिहान ५ बजे
    परम्परागत धार्मिक विधि तथा मान्यताअनुसार पुर्कोट कालिका माताको फूलपाती गोरखाको कालिका मन्दिरमा लैजाने विशेष धार्मिक कार्यक्रम आयोजना गरिनेछ।
    यस कार्यक्रमले पुर्कोट र गोरखाबिच रहिआएको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई निरन्तरता दिनुका साथै पुस्तौँदेखि चलिआएको फूलपाती परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
     खुला दौड प्रतियोगिता असोज ३१ गते, शनिवार बिहान ७ बजे
    सुरुआत स्थान सत्तलस्थित मुक्तेश्वर महादेव मन्दिर
    समापन स्थलस् पुर्कोटगढी, कोट घर, चन्दनी
    यस वर्षको बडादसैँलाई स्वास्थ्य, खेलकुद, धार्मिक आस्था र सामाजिक एकतासँग जोड्ने उद्देश्यले खुला दौड प्रतियोगिता आयोजना गरिनेछ।
    दौडको निर्धारित मार्ग
    सत्तलस्थित मुक्तेश्वर महादेव मन्दिर → लोब्रक → गैँडेपानी → थापा गाउँ → चन्दनी → फूलपाती मार्ग हुँदै पुर्कोटगढी, कोट घर।
    यस दौडको मूल सन्देश रहेको छस्
    “कालिका माताको आशीर्वादसँग दौडौँ, स्वास्थ्य, एकता र उत्सवका साथ बडादसैँ मनाऔँ।”
    दौडमा सहभागी हुने खेलाडी तथा अन्य सहभागीहरूका लागि पुर्कोट र गोरखाबिचको ऐतिहासिक धार्मिक सम्बन्धलाई नजिकबाट बुझ्ने अवसरसमेत प्राप्त हुनेछ। कार्यक्रमले स्थानीय पर्यटन, प्राकृतिक पदयात्रा, स्वास्थ्य सचेतना तथा सांस्कृतिक पहिचानको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
    ग० खुला दौड प्रतियोगिताका पुरस्कार
    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछ।
    प्रथम पुरस्कार रु २०,०००।
    द्वितीय पुरस्कार रु १०,०००।
    तृतीय पुरस्कार रु ५,०००।
    प्रतियोगितासम्बन्धी सहभागिताका थप विवरण तथा आवश्यक नियमहरू आयोजक समितिबाट जानकारी गराइनेछन्।
    आमा समूहका लागि म्युजिकल चियर प्रतियोगिता
    महिलाहरूको सहभागिता, मनोरञ्जन तथा सामूहिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आमा समूहका लागि म्युजिकल चियर प्रतियोगिता आयोजना गरिनेछ।
    पुरस्कारहरू
    प्रथम चरेसको थाल सेट।
    द्वितीय चरेसको लोटा।
    तृतीय भित्ते घडी।
    यस प्रतियोगिताले महिलाहरूको सक्रिय सहभागिता बढाउनुका साथै सामुदायिक सम्बन्ध, मनोरञ्जन र आपसी सद्भावलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
     बाबा समूहका लागि घैँटो फुटाइ प्रतियोगिता
    बडादसैँको परम्परागत मनोरञ्जनलाई निरन्तरता दिने उद्देश्यले बाबा समूहका लागि घैँटो फुटाइ प्रतियोगिता आयोजना गरिनेछ।
    पुरस्कार
    प्रथम चरेसको थाल सेट।
    यस प्रतियोगितामार्फत परम्परागत खेलकुद तथा मनोरञ्जनका माध्यमबाट स्थानीय समुदायको सक्रिय सहभागिता र सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
    सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम
    खेलकुद प्रतियोगितापछि पुर्कोटगढीस्थित कोट घर, चन्दनीमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछन्।
    कार्यक्रमका प्रमुख आकर्षणहरू
    स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति।
    परम्परागत कला, संस्कृति तथा लोक सङ्गीतको प्रवर्द्धन।
    स्थानीय मौलिकता झल्काउने मनोरञ्जनात्मक कार्यक्रम।
    धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वबारे जनचेतनामूलक गतिविधि।
    यी कार्यक्रमहरूले स्थानीय प्रतिभाको सम्मान, मौलिक संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
     सम्पदा संरक्षण तथा विकासका लागि समितिको प्रतिबद्धता
    श्री कोट घर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिले पुर्कोटगढी तथा पुर्कोट कालिका क्षेत्रलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।
    यस लक्ष्यअन्तर्गत समितिका प्रमुख प्रतिबद्धताहरू निम्नानुसार छन्स्
    कोट गढी, पुर्कोट कालिका मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थित व्यवस्थापन गर्ने।
     पुर्कोट र गोरखाबिचको ऐतिहासिक फूलपाती परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने।
    ‘बाष्टे’ लगायतका मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने।
    स्थानीय इतिहास, जनश्रुति, मौखिक परम्परा तथा ऐतिहासिक दस्ताबेजको अध्ययन गरी प्रामाणिक इतिहास निर्माणमा योगदान पुर्‍याउने।
     धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पदयात्राको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने।
     स्थानीय समुदाय, बुद्धिजीवी, इतिहासविद्, अनुसन्धानकर्ता, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा संरक्षण अभियानलाई व्यापक बनाउने।
     भावी पुस्तामा ऐतिहासिक सम्पदाप्रतिको अपनत्व, सांस्कृतिक चेतना र संरक्षणको जिम्मेवारी विकास गर्ने।
    समितिको विश्वास छ कि स्थानीय समुदायको सक्रिय सहभागिता, सरकारी निकायको सहयोग, निजी क्षेत्रको सहकार्य तथा सञ्चारमाध्यमको सकारात्मक भूमिकाबाट पुर्कोटगढीको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सकिनेछ।
     आमन्त्रण तथा अपिल
    यस ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, देश–विदेशमा रहनुभएका पुर्कोटवासी, समाजसेवी, बुद्धिजीवी, अनुसन्धानकर्ता, इतिहास प्रेमी, खेलाडी, कलाकार, सञ्चारकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, पर्यटन व्यवसायी र सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौँ।
    विशेष गरी सञ्चारमाध्यमहरूले पुर्कोटगढीको ऐतिहासिक महत्त्व, फूलपाती परम्परा, ‘बाष्टे’ जस्ता मौलिक धार्मिक अभ्यास तथा सम्पदा संरक्षणको आवश्यकतालाई व्यापक रूपमा प्रचार–प्रसार गरी यस अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।
    हाम्रो इतिहास हाम्रो पहिचान हो। हाम्रो संस्कृति हाम्रो गौरव हो। पुर्खाले सुम्पिएको सम्पदाको संरक्षण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी र भावी पुस्ताप्रतिको अमूल्य उपहार हो।
    अतः पुर्कोटगढीको ऐतिहासिक गौरव, पुर्कोट कालिका माताको धार्मिक आस्था र हाम्रो मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैको साथ, सहयोग र सहभागिताका लागि हार्दिक अपिल गर्दछौँ।



    heralokhabar heralokhabar    
  • २९ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP