हेरालाे खबर
रोल्वालिङ क्षेत्रका सम्पूर्ण मतदाताहरूले रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार

जनतालाई निर्वाचनमार्फत प्रतिनिधि चयन गरी शासन व्यवस्थामा सहभागिता जनाउने अधिकारसहितको लोकतान्त्रिक व्यवस्था राष्ट्रको सबैभन्दा सबल र सुखद पक्ष हो । तर, विगतका हरेक निर्वाचनले रोल्वालिङवासीका लागि परिणाम विहीन र निराशाजनक बन्दै आएका छन् ।


रोल्वालिङ क्षेत्रको कठिन भौगोलिक अवस्था, सडक सञ्जालबाट पूर्णतः वञ्चित हुनु, आधारभूत स्वास्थ्य सेवा समेत उपलब्ध नहुनुका कारण यहाँको जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ । कुनै आकस्मिक दुर्घटना वा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आफ्नै खर्चमा जीवन रक्षा गर्न खोज्दा समेत राज्यको त्रुटिपूर्ण नीति र सम्बन्धित जिम्मेवार व्यक्तिहरूको उत्तरदायित्वहिन व्यवहारका कारण समयमै उपचार तथा उद्धार हुन नसकी पछिल्लो १० वर्षको अवधिमा १२ जनाभन्दा बढी व्यक्तिहरूले अकालमै ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र कहालीलाग्दो यथार्थ छ।
यस दुःखद अवस्थाको मुख्य कारण बिना पर्याप्त अध्ययन र ठोस आधार, हचुवाको भरमा एकतर्फी रूपमा गरिएको रोल्वालिङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु हो । यस अदूरदर्शी र संवेदनहीन निर्णयका कारण यहाँको जनजीवन मात्र कष्टकर बनेको छैन, यस क्षेत्रमा आउने पर्यटकहरू समेत अनावश्यक असहजता र जटिलतामा पर्ने गरेका छन् ।
उक्त समस्या समाधानका लागि विगतमा यस क्षेत्रका प्रतिनिधि, मन्त्री तथा जिल्ला प्रशासन कार्यालयसमक्ष पटक–पटक अनुरोध गर्दा पनि हाम्रो माग र पीडाप्रति राज्य उदासीन र बेवास्तापूर्ण रहँदै आएको छ । यस परिस्थितिमा हामी प्रश्न गर्न बाध्य छौं ।
१) के राज्यले रोल्वलिङका जनतालाई आफ्नो देशका नागरिकका रूपमा अनुभूति गरेको छ ?
२) के राज्यले रोल्वलिङ गाउँलाई नेपालको अभिन्न भूभागका रूपमा आत्मसात् गरेको छ ?
३) देशका नागरिक आफ्नै जन्मभूमिमा निषेधको पीडा भोग्न बाध्य हुनु कस्तो नीति र व्यवस्था हो ?
४) राज्यले हामीलाई किन गैर-नागरिक सरह व्यवहार गरिरहेको छ ?
यसर्थ, जबसम्म राज्यले रोल्वालिङ क्षेत्रलाई अपहेलनापूर्ण रूपमा गरिएको “निषेधित क्षेत्र” घोषणा खारेज गरी सम्पूर्ण नेपाली नागरिकलाई आफ्नै भूमिमा स्वतन्त्र रूपमा हिँडडुल गर्न, सुरक्षित रूपमा जीवन रक्षा गर्न र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने वातावरण सिर्जना गर्दैन, तबसम्म हुने हरेक निर्वाचन रोल्वालिङवासीका लागि अर्थहीन रहनेछ । तसर्थ, रोल्वालिङ क्षेत्रका सम्पूर्ण मतदाताहरूले रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
स्रोत: रोल्वालिङ बेदिंङको स्थानीय
प्रतिक्रिया