हेरालाे खबर
नेपाली फुटबल क्षेत्रका लागि याे एउटा गौरवपूर्ण खबर हाे। नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ डेनमार्कमा आयोजना हुने विश्वकै प्रतिष्ठित र शीर्ष स्थानमा रहेको युथ फुटबल प्रतियोगिता ‘डाना कप’ (DANA Cup) मा खेल सञ्चालन (सुपरभाइज) का लागि चयन हुनुभएको छ।

जुलाई २० देखि डेनमार्कमा सुरु हुने यस प्रतियोगितामा लक्ष्मीले आफ्नो रेफ्री कौशल प्रदर्शन गर्नुहुनेछ।
लक्ष्मी श्रेष्ठका लागि डाना कपको यो यात्रा पहिलो भने होइन। उहाँ सन् २०२२ देखि नै यस प्रतियोगिताका लागि निरन्तर मनोनित हुँदै र खेल खेलाउँदै आउनुभएको छ। विश्वभरका हजारौँ युवा खेलाडी र खेल अधिकारीहरू सहभागी हुने यति ठूलो मञ्चमा सन् २०२२ देखि नै लगातार अवसर पाउनुले लक्ष्मीको व्यावसायिक क्षमता, निर्णय लिने उच्च दक्षता र खेलप्रतिको अनुशासनलाई अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित गरेको छ।

विश्व फुटबलमा डाना कपलाई युवा खेलाडीहरूको ‘मिनी वर्ल्ड कप’ का रूपमा समेत हेर्ने गरिन्छ। सन् १९८२ देखि डनमार्कमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा विश्वका ४५ भन्दा बढी देशका १ हजारभन्दा बढी टोलीहरूले सहभागिता जनाउने गर्छन्। शीर्ष स्थानको युथ प्रतियोगितामा नेपाली महिला रेफ्रीले खेल खेलाउन पाउनु आफैँमा एउटा ऐतिहासिक उपलब्धि हो। लक्ष्मीको यो निरन्तरको सफलताले नेपालमा फुटबल रेफ्री बन्न चाहने र खेलकुद क्षेत्रमा भविष्य खोजिरहेका अन्य थुप्रै महिलाहरूका लागि ठूलो प्रेरणा मिल्ने विश्वास गरिएको छ। उचित अवसर र निरन्तरको मेहनत भएमा नेपाली रेफ्रीहरू पनि विश्वस्तरका प्रतियोगिता सञ्चालन गर्न सक्षम छन् भन्ने सन्देश यसले दिएको छ।
लक्ष्मीको यस गौरवशाली कदम र अद्भुत सफलताका लागि खेलप्रेमी, शुभचिन्तक तथा खेलकुद सम्बद्ध व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै डनमार्क यात्रा र सुखद खेल सञ्चालनका लागि हार्दिक शुभकामना व्यक्त गरिरहेका छन्।
प्रतिक्रिया