हेरालाे खबर
काठमाडौं। पाकिस्तानको इस्लामाबादमा आयोजना हुने काभा मेन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।

नेपाल भलिबल संघले काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरेको हो।

टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट र कप्तान हरिहजुर थापा रहेका छन्। बिदाइ कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, संघका उपाध्यक्ष युवराज श्रेष्ठ र भरत शाह, महासचिव रोशन श्रेष्ठ लगायत पदाधिकारी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै खेलाडीहरूको हितका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाली टोली उत्कृष्ट लयमा रहेको उल्लेख गर्दै राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “मलाई लाग्छ हाम्रो टोली अहिले निकै राम्रो अवस्थामा छ। त्यसअनुसारको नतिजा आउनेमा हामी विश्वस्त छौं।”
अध्यक्ष चन्दले नेपाली टोली प्रतियोगिताको फाइनलमा पुगेमा प्रत्येक खेलाडीलाई जनही तीन लाख रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिने घोषणा पनि गरे।
नेपाली टोली सोमबार पाकिस्तान प्रस्थान गर्नेछ भने प्रतियोगितामा आफ्नो पहिलो खेल बुधबार खेल्ने तालिका रहेको छ।
नेपाली टोली
कप्तान : हरिहजुर थापा
मुख्य प्रशिक्षक : जगदीश भट्ट
सहायक प्रशिक्षक : रुपेश विष्ट
खेलाडीहरू :
हिमाल सुनारी
पहल गहतराज
सुरज बर्देवा
सुनिल बेहरा
विनोदबहादुर चन्द
दीपेश कुँवर
सन्तोष विक
राजेन्द्र धामी
रबिन नगरकोटी
सुरज चुनारा
नृपध्वज बस्नेत
टोली व्यवस्थापक : सोमबहादुर श्रेष्ठ
प्रतिक्रिया