हेरालाे खबर
काठमाडौं । इम्पेरियल सेक्युरिटिज लिमिटेडले नेपाली राष्ट्रिय महिला भलिबलका सिनियर तथा जुनियर टोलीका लागि जर्सी प्रायोजन गर्ने भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहबीच नेपाल भलिबल संघ (एनभीए) र इम्पेरियल सेक्युरिटिजबीच दुई वर्षका लागि औपचारिक सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका प्रतिनिधि भक्तिराम घिमिरेले हस्ताक्षर गरे। यस सहकार्यअनुसार, अबदेखि दुवै टिमले प्रतिस्पर्धामा लगाउने जर्सीमा इम्पेरियल सेक्युरिटिजको लोगो अंकित रहनेछ।
सम्झौताअनुसार कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाँका दरले दुई वर्षमा कुल ४० लाख रुपैयाँको प्रायोजन उपलब्ध गराउनेछ। यसका अतिरिक्त, इम्पेरियलले हरेक वर्षको उत्कृष्ट महिला खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार स्वरूप प्रदान गर्ने भएको छ।
नेपाल भलिबल संघले यसअघि सिनियर टोलीका लागि मात्र जर्सी प्रायोजनको खोजी गरिरहेको अवस्थामा, इम्पेरियल सेक्युरिटिजको यो सहभागिताले जुनियर टोली समेत लाभान्वित हुने भएका छन्।
समारोहका अवसरमा नेपाली महिला टोलीले लगाउने सेतो र निलो रङका दुई नयाँ डिजाइनका जर्सी पनि सार्वजनिक गरिएको छ।
नयाँ जर्सी सार्वजनिक भएपछि टोलीका खेलाडीहरू उत्साहित देखिएका छन्। यो प्रायोजन सम्झौताले नेपाली महिला भलिबललाई थप व्यावसायिकता, स्थायित्व र मनोबल प्रदान गर्ने अपेक्षा गरिएको छ।
तस्बिर: शेषकान्त जिसि
प्रतिक्रिया