हेरालो खबर । पोखरा, पुष ५ । पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा सम्पन्न वार्षिक खेलकुद प्रतियोगिता २०८२ का उत्कृष्ट बिद्यार्थी खेलाडीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्न सफल खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयका प्राचार्य भुवन सुवेदीले जानकारी दिनुभयो । नर्सरी देखि १२ कक्षा सम्मका विद्यार्थी सहभागी विभिन्न ३६ विधाका खेल प्रतियोगितामा विभिन्न सदनबीच प्रतिस्पर्धा भएको थियो ।
पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले विद्यालयस्तरमै खेल प्रतिभाको पहिचान सम्भव हुने र खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले खेलकुद कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । समारोहमा बोल्दै विद्यालयका प्राचार्य भुवन सुवेदीले खेलकुद शिक्षाको अभिन्न अंग भएको उल्लेख गर्नुभयो । खेलमैदानमा सिकिने समयपालन, नियमपालन र हार–जितलाई स्वीकार गर्ने संस्कारले विद्यार्थीको चरित्र निर्माणमा सकारात्मक प्रभाव पार्ने र खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास हुने विद्यालयका प्राचार्यको भनाई थियो । ।
सम्पूर्ण खेलकुद व्यवस्थापन खेलकुद प्रशिक्षक खेम कार्कीको नेतृत्वमा सम्पन्न गरिएको विद्यालयले जनाएको छ । पुरस्कार वितरण कार्यक्रमको संचालन विद्यालयका सह–प्राचार्य फडिन्द्र अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागितामा सांस्कृतिक नाच प्रदर्शन गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया