logo
  • ७ पुष २०८२, सोमबार | Mon, 22 Dec 2025
  • महिला फुटबलमा इतिहास बनाउँदै एपिएफ क्लब

    • Heralo Reporter Heralo Reporter
    • ७ भाद्र २०८१ शुक्रबार
    महिला फुटबलमा इतिहास बनाउँदै एपिएफ क्लब

    काठमाडौं , हेरालाे खबर

     एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ ।

    एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली विहीबार राती मलेसिया प्रस्थान गरेको छ ।

    नेपालमा महिला क्लब फुटबल बामे सर्दै गरेको अवस्थामा छ । नेपालको महिला फुटबल तीन विभागीय टोलीले धानेको छ भन्दा फरक नपर्ला । प्रदेशका टिममा खेलाडी त छन् तर प्रतियोगिता नै छैन् । यस्तो अवस्थामा कुनै क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनु कुनै सपना भन्दा कम हैन ।

    एपिएफ महिला लिग च्याम्पियनको हैसियतमा यस प्रतियोगिताका लागि छनोट भएको हो । च्याम्पियनसिपको प्रारम्भिक चरण खेल्न लागेको एपिएफले राम्रो तयारी गरेको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी नेपाल एपिएफ क्लबकी कप्तान अनिता बस्नेत बताउँछिन् ।

    अहिले राम्रो भईरहेको छ । बहिनीहरु साम्बा नहुँदा पनि राम्रो मेहेनत गरिरहेका छन्,’ कप्तान अनिताले हाम्रो खेलकुदसँग भनिन् ‘साम्बा नहुदा पनि टिमको होप छ । साम्बा नहुदा बहिनीहरुको प्रदर्शन राम्रो नै हुनेछ । राम्रो गर्नेमा सबै जना विश्वस्त छन् ।’

    एपिएफबाट खेल्दै आएकी फरवार्ड साम्बा हाल व्यवसायिक फुटबल खेलका लागि फ्रान्समा रहेकी छिन् । एपिएफकी महत्वपुर्ण खेलाडी साम्बा क्लबले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा टोलीसँग हुने छैनन् ।

    लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागीता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सिधै छनोट भईसकेका छन् । लिगमा एसियामा फुटबलका पावर हाउस मानिएका जापान, चीन, ईन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागीता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पारगर्नु पर्ने हुन्छ ।

    प्रारम्भिक चरणमा रहेका १४ देशका क्लहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।

    प्रारम्भिक चरणका खेलहरु यहि अगस्ट २५ देखि ३१ सम्म हुनेछन् । नेपालको एपिएफ क्लब मलेसियाको सबाह एफसि तथा उज्वेकस्तानको पिएपसि नसाकसँग रहेको छ । यि दुई क्लबलाई हराउँदै समूह चरणमा पुग्ने लक्ष्यमा एपिएफ क्लब रहेको छ । तयारी राम्रो भएको टोलीका प्रशिक्षक राजेन्द्र तामाङ बताउछन् ।

    ‘तयारीको हिसाबमा भर्खरै महिला राष्ट्रिय टोलीको तयारी गरेर आएको भएर धेरै समय पनि भएको छैन । लेबनानको तयारी भईरहेको थियो । त्यो रद्द हुने बितिक्कै यो तयारी गरिएको हुनाले राम्रो भएको छ,’ प्रशिक्षक तामाङले बताए ।

    साम्बाको अनुपस्थिती हुनेभएसँगै आफुले प्लान बी कार्यान्वयन गराएको प्रशिक्षक तामाङले बताए । ‘साम्बाको स्थान लिन अहिले टोलीमा रहेका खेलाडीलाई मुस्किल रहेको छ । तर अहिले व्यक्ति भन्दापनि टिमले काम गर्छ, सबैलाई आफ्नो भूमिका थाहा छ,’ उनले थपे ।

    यो लिगका लागि एपिएफले राष्ट्रिय टोलीका खेलाडीलाई भित्राएको छ । एपिएफले राष्ट्रिय टिममा रहेका पुलिस क्लबकी उषा नाथ र अमृता जैसी तथा आर्मीकी अमिशा कार्की र दीपा शाहीलाई भित्राएको हो । राष्ट्रिय टोलीकी प्रतिभाशाली खेलाडी प्रिति राईका लागि पनि यो प्रतियोगिता महत्वपुर्ण रहेको छ । चोट पछिको उनको यो पहिलो प्रतियोगिता पनि हो ।

    ‘मलाई यसले एकदमै सहयोग गर्नेछ । फोर नेसन कपका लागि भएको क्लोज क्याम्प देखि नै म मैदान फर्केको थिएँ,’ प्रितिले हाम्रो खेलकुदसँग भनिन् ‘प्रशिक्षकले धेरै सहयोग गर्नुभएको छ । राष्ट्रिय टोलीको प्रशिक्षक नै क्लबमा पाउँदा म खुसी छु ।’

    महिला फुटबल खेलाडीले सिमित प्रतियोगिता र श्रोत साधनका बीच पनि देशलाई सफलता दिदै आएका छन् । पहिलो सहभागीतामा नै एपिएफलाई प्रारम्भिक चरण पार गर्दै समूह चरण स्थान बनाउने सुनौलो अवसर रहेको छ । एपिएफको टोली प्रतियोगितामा सहभागीता जनाउन बिहीबार बेलुका मलेसिया प्रस्थान गर्दैछ । एपिएफले आईतबार उज्वेकस्तानको नसाफसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार मलेसियाको सबाहसँग खेल्नेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ७ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP