logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • ओसासुनासँग बार्सिलोना स्तब्ध

    • Heralo Reporter Heralo Reporter
    • १३ आश्विन २०८१ आईतवार
    ओसासुनासँग बार्सिलोना स्तब्ध

    पाेखरा , हेरालाे खबर

    एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो ।

    ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि बार्सिलोनाले लगातार सात खेलमा जित निकालेको थियो ।

    नयाँ प्रशिक्षक हान्सी डाएर फ्लिकको प्रशिक्षणमा बार्सिलोनाको यो सिजनमा यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले गत साता च्याम्पियन्स लिगमा मोनाकोसँग हार बेहोरेको थियो ।

    बार्सलोनालाई स्तब्ध पार्न यसै सिजन ग्रानडाबाट ओसासुना आएका ब्रायन जारागोजाले एक गोल र एक असस्ट प्रदान गरे । उनले गत सिजन पनि बार्सिलोनाविरुद्ध दुई गोल गरेका थिए । उनी बार्सिलोनाविरुद्ध खल नायक बन्दै आएका छन् ।

    एन्टी बुदिमिरले दुई तथा एवेल ब्रेटोन्सले एक गोल गरे । बार्सिलोनाका पाउ भिक्टर र लामिन यामलले गोल गरेपनि हार टार्न सकेन ।

    एल सदरमा शनिबार राति भएको खेलको १८औं मिनेटमा बुदिमिरले गोल गर्दै ओसासुनलाई १–० को अग्रता दिलाए । विगतमा बार्सिलोनालाई समस्यामा पारेका ब्रायन जरागोजाको उत्कृष्ट क्रस पासमा बुदिमिरले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसको १० मिनेटपछि जारागोजाले इबानेजको बलमा उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

    पहिलो हाफ खराब भएपनि फ्लिकले ब्रेकमा कुनै परिवर्तन गरेन । यद्यपि दोस्रो हाफको सुरुवाततिर पाउ भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । ५३औं मिनेटमा उनले जेरार्ड मार्टिनको पासमा गोल गर्न सफल भएका थिए ।

    २–१ को स्थितिमा फ्लिकले राफिन्हा र लामिन यामललाई प्रस्तुत गर्दै बार्सिलोनालाई बराबरीको खोजीमा अगाडि बढायो । तर, ७२औं मिनेटमा पेनाल्टीमा गोल खान पुगेपछि बार्सिलोनाको खेलमा फर्कने सम्भावना लगभग सकियो ।

    काउन्टर अट्याकमा एरेसोको पासलाई नियन्त्रणमा लिने क्रममा सर्जी डोमिन्गुएजले बुदिमिरलाई फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा उनी आँफैले गोल गर्न सफल हुँदा खेल बार्सिलोनाको पहुँचबाट ३–१ ले टाढा गयो ।

    ८५औं मिनेटमा एवेल ब्रेटोन्सले गोल गरेपछि ओसासुना खेलमा ४–१ ले पछि पर्यो । ८९औं मिनेटमा यामलले टोरेसको पासमा दर्शनीय गोल गरेपनि टोलीको हार टार्न सकेन ।

    ओसासुनाविरुद्ध युवा सुरुआती लाइनअपलाई मैदानमा उतार्ने हान्सी फ्लिकको साहसी निर्णय हारमा महँगो पर्यो । यो पराजयले बार्सिलोनाको जितको सिलसिला मात्र रोकेको छैन फ्लिकको रणनीतिक दृष्टिकोण र खेलाडी प्रयोगमा पनि प्रश्न खडा गरेको छ ।

    व्यस्त तालिका र खेलाडीको चोटको सामना गरिरहेको फ्लिकले ओसासुनाविरुद्ध क्युबार्सी, सर्गी डोमिन्गुएज, जेरार्ड मार्टिन, पाब्लो टोरे र पाउ भिक्टर जस्ता युवालाई पहिलो रोजाईमा उतारेका थिए । यद्यपि, बार्सिलोनाले खेललाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएपन कुनै अर्थपूर्ण अवसरहरू सिर्जना गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

    यस हारका बावजुत बार्सिलोना ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा ४ अंकले अघि छ । बार्सिलोनालाई हराएको ओसासुना ८ खेलबाट १४ अंक जोडेर छैटौं स्थानमा छ ।



    Heralo Reporter Heralo Reporter    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP