पोखरा , हेरालाे खबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायालयप्रति आफ्नो पूर्ण सम्मान रहेको बताएका छन्। धराैटी रकम बुझाएर थुनामुक्त भएपछि लामिछानेले भने-‘म न्यायालयप्रति सदैव सम्मान राख्छु र कानुनी प्रक्रियाको पालना गर्न प्रतिबद्ध छु ।’
मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला । दीपक बोहोराको फेसबुक लाइभमा उनले भनेका छन्- ‘धेरै लडाईं बाँकी नै छ । न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’
सहकारीको मुद्दासँगै लामिछाने पछिल्लो समय विवाद र कानुनी चुनौतीको केन्द्रमा थिए। तर, रिहाइपछि उनले पार्टीको हित र जनताको सेवाका लागि आफ्नो भूमिका अझै सक्रिय बनाउने बताएका छन्।
थुनामुक्त भएपछि लामिछाने स्वास्थ्य परीक्षणका लागि पोखराको फिस्टेल अस्पताल पुगे । त्यसपछि प्रहरीले उनलाई पार्टी र परिवारको जिम्मा लगाएको छ।
काठमाडौँमा अर्को मुद्दा रहेको भएपनि आफू अदालतमा स्वयं उपस्थित हुने प्रतिबद्धता जनाएपछि उनलाई प्रहरीकाे जिम्मामा नराखी छोडिएको हो।
लामिछानेको रिहाइपछि उनका समर्थकहरू खुशी व्यक्त गर्दै अदालतको निर्णयको स्वागत गरेका छन्। लामिछानेले यसलाई नयाँ अवसरको रूपमा लिएर आफू रास्वपाको नेतृत्वलाई अझ सशक्त बनाउने संकेत भएकाे बताएका छन् ।
सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्ने आदेश दिएसँगै उनी धराैटी रकम बुझाएर ८४ दिनपछि थुनामुक्त भएका हुन् ।
प्रतिक्रिया