logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पोखरामा एकता सभा

    पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पोखरामा एकता सभा

    पोखरा , हेरालाे खबर

    आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ ।

    यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइएको हो । यस अवसरमा पोखरासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    पोखरामा एकता सभा आयोजना गरियो भने काठमाडौंमा जलपान कार्यक्रम आयोजना गरिएको थियो ।

    पोखरामा नेपाल ठकुरी समाज, विश्व हिन्दू महसंघ, क्षेत्री समाज, ब्राम्हण समाज, विश्वकर्मा समाज, स्वतन्त्र समाज, पतञ्जली योग समिति, इस्लामिक कल्याणकारी समाज, जलारी समाज र भूपू सैनिक संगठनको सहकार्यमा एकता सभा आयोजना गरिएको हो ।

    सभाअघि पोखराको चिप्लेढुंगाबाट शुरु भएको र्‍याली न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोमा पुगेर सभामा परिणत भएको थियो ।

    यता, काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी थिए ।

    कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद र अन्य विभिन्न दलका नेताहरु सहभागी थिए ।

    सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका थिए ।

    प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओली आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा पनि सहभागी भएका थिए ।

    विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।

    त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

    पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सीमाना बढाएका थिए ।

    सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३औँ जन्मजयन्ती मनाइएको हो ।



    Heralo Reporter Heralo Reporter    
  • २७ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP