हेरालाे खबर
एजेन्सी – न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हराएको छ।
३ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुँदै २ सय ६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान आघाले ४२ रन जोडे ।
न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनर समान ३ विकेट, म्याट हेनरीले २ र नेथन स्मिथले १ विकेट लिए ।
त्यस अघि ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले ५ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो ।
पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी खेलमा न्युजिल्याण्डका लागि लाथमले नट आउट रहँदै सर्वाधिक १ सय १८ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरे । ओडिआई करियरको आठौं शतक लाथमले ९५ बलमा पूरा गरे ।
योङले १ सय १३ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ७ रन जोडे । ओडिआई करियरको चौथो शतक योङले १ सय ७ बलमा पूरा गरे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १ सय २५ रनको शतकीय साझेदारी गरे ।
फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा आउट भए ।
पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए ।
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगितामा भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
प्रतिक्रिया