logo
  • ३० आश्विन २०८२, बिहीबार | Thu, 16 Oct 2025
  • पोखरामा कता घुम्ने त ?

    • heralokhabar heralokhabar
    • १७ आश्विन २०८२ शुक्रबार
    पोखरामा कता घुम्ने त ?

    १. फेवाताल

    फेवाताल, जसलाई पोखरा उपत्यकाको मुटु मानिन्छ । समुद्री सतहदेखि करिब ७४२ मिटर उचाइमा फैलिएको यो ताल नेपालको दोस्रो ठूलो ताल हो, तर पर्यटकीय दृष्टिले भने सबैभन्दा लोकप्रिय र चर्चित छ । करिब ५.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस तालको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व, मनोरञ्जनात्मक गतिविधि र सांस्कृतिक जीवनशैलीले यसलाई पोखरा आउने हरेक आगन्तुकको पहिलो रोजाइ बनाएको छ ।

    फेवातालको सबैभन्दा अद्भुत विशेषता भनेको हिमालहरूको प्रतिबिम्ब हो । माछापुच्छ्रे हिमाल मात्र होइन, अन्नपूर्ण, धौलागिरी र मनास्लु श्रृंखलाका हिमालहरू पनि मौसम खुलेको बेला यसको शान्त पानीमा सजिलै प्रतिबिम्बित हुन्छन् । यस दृश्यले फेवा ताललाई चित्रकार, फोटोग्राफर र प्रकृति प्रेमीहरूका लागि अद्वितीय गन्तव्य बनाएको छ । खासगरी बिहानको बेला ताल नजिक पुग्दा, वरिपरि हल्का कुहिरो छर्दै गरेको बेला र पानीमा चन्द्रमाको चमक प्रतिबिम्बित भएको दृश्य अविस्मरणीय हुन्छ ।

    यो ताल धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यसको बीच भागमा रहेको सानो टापुमा तालबाराही मन्दिर अवस्थित छ । यहाँ धार्मिक पूजा, विशेष चाडपर्व र विवाह संस्कारसम्म सम्पन्न हुने गरेको पाइन्छ । तालबाराही पुग्ने एक मात्र साधन डुङ्गा भएकाले ताल भ्रमण गर्ने अधिकांश यात्रु यस मन्दिरसम्म पुग्ने गर्छन् । यसरी धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको मिश्रण फेवा तालमा अनुभव गर्न पाइन्छ ।

     

    फेवातालसँग सम्बन्धित केही रोचक लोककथाहरू पनि छन् । भनिन्छ, प्राचीन समयमा यो क्षेत्र ठूलो गाउँले भरिएको थियो । एक वृद्ध महिलाले गाउँलेलाई चिताएको थियो कि यहाँ ठूलो पानी आउनेछ, तर कसैले उनको चेतावनीलाई गम्भीरतापूर्वक लिएनन् । पछि गाउँ डुबेर ताल बनेको भन्ने जनविश्वास छ । यस कथाले यस क्षेत्रका मानिसहरूलाई फेवा ताललाई धार्मिक आस्था र श्रद्धाको दृष्टिले हेर्न प्रेरित गरेको छ ।

    फेवाताल भ्रमण गर्न सबैभन्दा राम्रो समय अक्टोबर–नोभेम्बर र मार्च–अप्रिल मानिन्छ । यस समयमा मौसम प्रायः सफा हुन्छ र हिमालको प्रतिबिम्ब स्पष्ट देखिन्छ । बिहान र साँझको समयमा तालको पानी शान्त रहने भएकाले फोटोग्राफीका लागि उपयुक्त हुन्छ ।

    २. सराङकोट

    सराङकोट पोखरा उपत्यकाको उत्तर–पश्चिम किनारमा अवस्थित एक प्रसिद्ध डाँडो हो, जसलाई विशेष गरी हिमाल दर्शन, सूर्योदय अवलोकन र साहसिक खेलकुद गतिविधिहरूका लागि चिनिन्छ । समुद्री सतहदेखि करिब १,६०० मिटर (लगभग) उचाइमा रहेको साराङकोट पोखरा शहरदेखि मात्र १० किलोमिटर टाढा पर्छ र छोटो गाडी यात्राद्वारा सजिलै पुग्न सकिन्छ । यहाँबाट देखिने हिमालहरूको श्रृंखला, पोखरा उपत्यका र फेवा तालको विहंगम दृश्यले यसलाई पोखरा आउने लगभग हरेक पर्यटकको मुख्य गन्तव्य बनाएको छ ।

    सराङकोटको सबैभन्दा ठूलो आकर्षण भनेको सूर्योदय अवलोकन हो । बिहान सूर्योदयसँगै अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ्रे, धौलागिरी, मनास्लु लगायतका हिमालहरू सुनौलो रङमा रंगिएर देखिन्छन् । सूर्यको पहिलो किरणले हिमाललाई हल्का सुनौलो–रातो रंगमा रंग्याउँदा त्यसको प्रतिबिम्ब फेवा तालमा परेर देखिने दृश्य पर्यटकहरूका लागि अविस्मरणीय हुन्छ । यही कारणले सराङकोटलाई नेपालकै उत्कृष्ट सूर्योदय स्थलमध्ये एक मानिन्छ ।

    यस स्थानबाट देखिने दृश्य केवल हिमालमा मात्र सीमित छैन । पोखरा शहर, फेवा ताल, सेती नदीको खोँच र हरियाली उपत्यकाको व्यापक रूप यहाँबाट नियाल्न सकिन्छ । सफा मौसममा त धौलागिरीदेखि गोरखा क्षेत्रसम्मका हिमालहरू पनि स्पष्ट देखिन्छन् । यसरी, सराङकोटलाई प्रकृति प्रेमी, फोटोग्राफर र साहसिक यात्रीहरू सबैका लागि आदर्श स्थल मानिन्छ ।

    सराङकोट साहसिक गतिविधिहरू (ब्मखभलतगचभ क्उयचतक) का लागि पनि निकै लोकप्रिय छ । यहाँबाट प्याराग्लाइडिङ गर्ने अवसर उपलब्ध हुन्छ । विश्वकै उत्कृष्ट प्याराग्लाइडिङ स्पटमध्ये एक मानिने सराङकोटबाट उडान गर्दा हिमाल र उपत्यकाको अद्वितीय दृश्य हावाबाट नियाल्न सकिन्छ । प्याराग्लाइडिङमा सहभागी हुने धेरैजसो यात्रुहरूले ट्याण्डेम फ्लाइट रोज्छन्, जसमा अनुभवी पाइलटसँगै सुरक्षित रूपमा उड्न सकिन्छ । यसबाहेक, छोटो ट्रेकिङ, हाइकिङ, माउन्टेन बाइकिङ जस्ता गतिविधिहरू पनि साराङकोट वरिपरि लोकप्रिय छन् ।

    धार्मिक दृष्टिले पनि साराङकोटको महत्व छ । यहाँ केही मन्दिर र स्थानीय देवस्थलहरू रहेका छन् जसमा स्थानीय बासिन्दाले पूजा–आराधना गर्ने गर्छन् । डाँडो वरिपरि बसोबास गर्ने गुरुङ, मगर, नेवार र अन्य समुदायका मानिसहरूको जीवनशैली, संस्कार र संस्कृति पनि पर्यटकलाई आकर्षित गर्ने अर्को पक्ष हो ।

    साराङकोट भ्रमणको लागि उपयुक्त समय अक्टोबरदेखि नोभेम्बर र मार्चदेखि अप्रिल हो । यस समयमा मौसम सफा हुने भएकाले हिमाल स्पष्ट देखिन्छन् । बिहान सबेरै (४–५ बजे) उठेर सूर्योदय अवलोकन गर्न सकिन्छ ।

    ३. पञ्चासे

    पोखरा उपत्यकाको पश्चिमी भागमा अवस्थित पञ्चासे प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ग्रामीण जीवनशैलीको उत्कृष्ट संगमको रूपमा परिचित छ । समुद्री सतहदेखि करिब १,३००–१,५०० मिटर उचाइमा फैलिएको पञ्चासे डाँडाले पर्यटक र स्थानीय दुवैका लागि विविध आकर्षण प्रस्तुत गर्दछ । यहाँ पुग्दा फेवा ताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमालको मनोरम दृश्यहरूको अद्भुत अनुभव लिन सकिन्छ । विशेषगरी सूर्य उदाउँदा र अस्ताउँदा उत्पन्न हुने दृश्यावलोकनले पञ्चासेलाई पोखराको सबैभन्दा लोकप्रिय सनराइज र सनसेट भ्यू–पोइन्ट बनाएको छ ।

    पञ्चासेको सबैभन्दा ठूलो विशेषता यसको प्राकृतिक र हरियाली वातावरण हो । यहाँका डाँडाहरू, जंगल र खुला चराई क्षेत्रहरूले शान्त र स्वच्छ वातावरण प्रदान गर्छन् । पञ्चासेमा पैदल यात्रा, ट्रेकिङ, साइकल यात्रा र फोटोग्राफीका लागि उत्कृष्ट मार्गहरू उपलब्ध छन् । वरिपरि फैलिएका वन, खुला आकाश र हिमालको पृष्ठभूमिले यहाँको पर्यटन अनुभवलाई अझ रोमाञ्चक बनाएको छ । हिउँले ढाकिएका हिमालको दृश्य, हरियाली डाँडाहरू, बग्ने खोला र चराहरूको चिरबिराहटले पर्यटकलाई प्राकृतिक वातावरणसँग नजिक ल्याउँछ । पञ्चासे पोखरा लेकसाइड हल्लनचोक हुँदै सेदि, भकुण्डे, पामे, घाँटीछिनको बाटो हुँदै पुग्न सकिन्छ ।

    ४. बेगनास ताल र रुपा ताल

    पोखरा उपत्यकाको पूर्वी भागमा अवस्थित बेगनास ताल र रुपा ताल प्राकृतिक सौन्दर्य, शान्त वातावरण र जैविक विविधताको कारणले प्रसिद्ध छन् । फेवा ताललाई भन्दा शान्त र कम भीडभाड हुने भएकाले यी तालहरू प्रकृति प्रेमी, शान्त वातावरणमा विश्राम गर्न चाहने तथा वास्तविक ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि विशेष गन्तव्यका रूपमा चिनिन्छन् । पोखराको मुख्य शहरबाट करिब १५ किलोमिटर दूरीमा अवस्थित यी तालहरूले पोखराको पर्यटनलाई मात्र होइन, स्थानीय जीवनशैली र जीविकोपार्जनलाई पनि महत्वपूर्ण योगदान पु¥याएका छन् ।

     बेगनास ताल करिब ३.७२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पोखराको दोस्रो ठूलो ताल हो । समुद्री सतहदेखि ६५० मिटर उचाइमा रहेको यो ताल वरिपरि हरियो वनजंगल, पहाड र गाउँहरूले घेरेको छ । तालमा डुङ्गा चढेर घुम्दा वरिपरि देखिने अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्य एकदमै आकर्षक लाग्छ । बिहानको शान्त समयमा पानीमा पर्ने हिमालको प्रतिबिम्बले ताललाई झनै मोहक बनाउँछ । बेगनास तालमा पर्यटकहरूले डुङ्गा यात्रा, माछा मार्ने अनुभव, फोटोग्राफी र वरिपरि रहेका पदयात्रा मार्गको आनन्द लिन सक्छन् । साथै, ताल वरिपरिका किसानहरूले यहाँको पानी प्रयोग गरी माछापालन र तरकारी खेती गर्ने भएकाले यो तालले स्थानीय अर्थतन्त्रलाई समेत सघाइरहेको छ ।

    रुपा ताल

    रुपा ताल बेगनास तालको दक्षिण–पूर्वी भागमा अवस्थित छ । करिब १.३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो ताल आकारमा सानो भए पनि यसको प्राकृतिक सौन्दर्य अत्यन्तै लोभलाग्दो छ । रुपा ताल बेगनास तालसँगै एक सानो डाँडाले छुट्याएको छ र स्थानीयहरूका लागि प्रमुख माछापालन क्षेत्रका रूपमा परिचित छ । रुपा ताल अझ शान्त र कम पर्यटक जाने भएकाले शुद्ध प्राकृतिक वातावरणमा रमाउन चाहनेका लागि यो उत्कृष्ट स्थान हो । यहाँ चराहरूको चिरबिराहट, हरियो वनस्पति र ग्रामीण जीवनशैलीको सहज अवलोकन गर्न सकिन्छ । विदेशी पर्यटकहरू प्रायः बर्ड–वाचिङका लागि पनि यहाँ पुग्ने गर्छन्, किनभने यो ताल दुर्लभ र विभिन्न प्रजातिका चराहरूको प्राकृतिक आवास हो ।

     ५. डेभिस फल्स

    डेभिस फल्स पोखराको एक अद्वितीय र लोकप्रिय प्राकृतिक आकर्षण हो, जुन सेती खोला प्रणालीको एक भागको रूपमा पोखराको केन्द्र नजिकै, पर्छ । यसलाई स्थानीय भाषामा पाताले छाङ्गो पनि भनिन्छ । यसको नामको उत्पत्ति करिब ६ दशक अघिको एक दुखद घटनाबाट भएको हो । सन् १९६१ मा स्विजरल्याण्डका एक जोडी पोखरामा घुम्न आएका बेला, श्रीमती डेविस नामकी पर्यटक स्नान गर्ने क्रममा खोला अचानक बढेर पानीको तीव्र बहावमा परी हराइन् । उनको शव केही दिनपछि मात्र तलतिर फेला परेको थियो । त्यसयता, यस झरनालाई उनको सम्झनामा “डेभिस फल्स“ भनेर चिनिन थालियो ।

    डेभिस फल्सको सबैभन्दा विशेषता यसको असामान्य संरचना हो । यहाँ पानी माथिबाट ठुलो गर्जनका साथ ढुंगाको गहिरो खाडल हुँदै पृथ्वीभित्रै हराउँदै जान्छ । सामान्यतया हामीले झरना भनेको माथिबाट तल देखिने गरी बग्ने दृश्य बुझ्छौं, तर डेभिस फल्समा भने पानी जमिनभित्रै हराउँदै जान्छ । सेती नदीको गर्जन सुन्दा पर्यटकहरू चकित पर्छन् र पानीको तीव्र शक्तिले बनाएको प्राकृतिक ढुंगाको संरचना पनि हेर्न लायक हुन्छ । खोला र झरनाले काटेर बनाएका गहिरा खाल्डा, सुरुङ र ढुंगाका आकृतिहरू यसलाई अझ रमणीय बनाउँछन् ।

     

    यो स्थल मात्र प्राकृतिक सौन्दर्यकै लागि नभई सांस्कृतिक र पर्यटन दृष्टिकोणले पनि महत्वपूर्ण छ । यहाँ पुगेपछि मानिसहरूले वरिपरिको रमाइलो वातावरण अनुभव गर्न सक्छन् । नजिकै रहेको गुफा तथा सेती नदीको गहिरो खोँच पनि हेर्न योग्य छन् । डेभिस फल्सलाई घेरिएको पार्क क्षेत्रमा सुन्दर बगैंचाहरू, फोटो खिच्न उपयुक्त स्थानहरू र स्थानीय कलासंस्कृतिलाई देखाउने कलात्मक संरचनाहरू छन् । यसले पर्यटकलाई रमाइलो अनुभव दिलाउने मात्र होइन, पोखराको पर्यटन अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याउँछ ।

    डेभिस फल्स वर्षायाममा अझ भव्य देखिन्छ । लगातार परेको पानीका कारण झरनाको बहाव अत्यन्त तीव्र हुन्छ र गर्जन सुन्दा नै रोमाञ्चक अनुभव हुन्छ । वर्षभरि यहाँ देशीविदेशी पर्यटकको भीड लागिरहन्छ ।

    ६. पुम्दीकोट शिव मन्दिर

    पोखरा उपत्यकाको दक्षिण–पश्चिमी भागमा अवस्थित पुम्दीकोट शिव मन्दिर हालैको समयमा निकै लोकप्रिय धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । समुद्री सतहदेखि करिब १५०० मिटर उचाइमा रहेको पुम्दीकोट डाँडाको टुप्पोमा निर्मित यो मन्दिरले पोखरा उपत्यका मात्र नभई गण्डकी प्रदेशकै धार्मिक–पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको छ । यहाँ अवस्थित विशाल शिव मूर्ति र स्तूपा नै यसको प्रमुख आकर्षण हुन् ।

    यो मन्दिरमा स्थापना गरिएको महादेवको विशाल मूर्ति नेपालको सबैभन्दा अग्ला शिव मूर्तिमध्ये एक हो । करिब ५१ फिट अग्लो यो मूर्तिले पुम्दीकोटलाई आध्यात्मिक महत्त्वसहित पर्यटकहरूको ध्यान आकर्षित गरेको छ । शिव मूर्ति चैतन्य, शान्ति र शक्तिको प्रतीकका रूपमा यहाँ उभिएको देखिन्छ । वरिपरि हरियालीले ढाकिएको वातावरण, शान्त डाँडाकाँडा र हिमालको मनमोहक दृश्यले यहाँको धार्मिक अनुभूतिलाई अझै गहिरो बनाउँछ ।

    पुम्दीकोट पुग्ने जो कोहीलाई यहाँबाट देखिने दृश्यले मोहनी लगाउँछ । उत्तरतर्फ हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृंखलाहरू नजिकै देखिन्छन् । तलतर्फ हेर्दा फेवा ताल, पोखरा उपत्यकाको हरियाली, बस्ती र खेतबारीहरू अद्भुत देखिन्छन् । सूर्य उदाउँदा र अस्ताउँदा यहाँबाट देखिने दृश्य पर्यटकका लागि अविस्मरणीय अनुभव बन्छ ।

    मन्दिर वरिपरि निर्माण गरिएको स्तूपा र ध्यान स्थलहरू पनि यहाँको विशेष आकर्षण हुन् । यसको केही दुरीमा बौद्ध स्तूपा र शान्त बगैंचाहरू रहेका छन्, जसले धार्मिक सहिष्णुता र विविधताको सन्देश दिन्छ । हिन्दू र बौद्ध दुवै सम्प्रदायका धार्मिक प्रतीकहरूको उपस्थिति यहाँलाई आध्यात्मिक मिलनस्थलका रूपमा चिनाउँछ । यहाँ पुग्ने भक्तजन र पर्यटकले ध्यान, योग र आध्यात्मिक अभ्यास गर्न सक्ने सुविधा पाउँछन् ।

     पुम्दीकोट शिव मन्दिर र स्तूपाको निर्माण उद्देश्य धार्मिक आस्था मात्र होइन, पर्यटन प्रवद्र्धनसँग पनि गहिरो सम्बन्धित छ । स्थानीय समुदाय, संघसंस्था र धार्मिक अगुवाहरूको पहलमा सुरु गरिएको यो परियोजनाले पोखराको धार्मिक पर्यटनमा नयाँ आयाम थपेको छ । शिव मूर्तिको विशालता र वरिपरि गरिएको सौन्दर्यीकरणले यो स्थानलाई छिट्टै चर्चित बनाएको छ । विशेष गरी महाशिवरात्रि, तीज, दशैंजस्ता पर्वमा यहाँ हजारौं भक्तजन पूजाआजा र दर्शन गर्न आउने गर्छन् ।मन्दिर परिसरमा आउने भक्तजनहरूलाई धार्मिक अनुभूति मात्र होइन, सांस्कृतिक र मनोरञ्जनात्मक अनुभव पनि पाइन्छ । यहाँ भेट्न आउने मानिसहरूले फोटोग्राफी, पदयात्रा र वरिपरिका गाउँहरूको ग्रामीण जीवनशैली अवलोकन गर्न सक्छन् ।

    पुम्दीकोट क्षेत्र हाल पोखराको प्रमुख सनराइज र सनसेट भ्यू–पोइन्ट का रूपमा पनि प्रख्यात भएको छ । बिहानको समय हिमालमाथि परेको सुनौलो घामको झल्को हेर्न वा बेलुकी सूर्य अस्ताउँदै गर्दा उपत्यकामा फैलिएको हरियो–रातो रङको दृश्य देख्न यहाँ पर्यटकको भीड लाग्छ । यसको प्राकृतिक र धार्मिक दुबै आकर्षणले पुम्दीकोटलाई घरेलु तथा विदेशी पर्यटकका लागि अनिवार्य गन्तव्य बनाएको छ ।

    ७. विश्व शान्ति स्तूप

    विश्व शान्ति स्तूप पोखराको एक प्रमुख धार्मिक, सांस्कृतिक र पर्यटन गन्तव्य हो, जुन फेवातालको दक्षिणी डाँडामा, लगभग १,१०० मिटरको उचाइमा अवस्थित छ । यो स्तूपलाई जापानी भिक्षु निचिदात्सु फुजीले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने उद्देश्यले बनाएका अनेकौँ शान्ति स्तूपमध्ये एक हो । पोखराको शान्त वातावरण, फेवातालको रमणीय दृश्य र हिमालहरूको अप्रतिम श्रृंखलालाई नजिकबाट अवलोकन गर्न सकिने भएकाले यो स्थान अत्यन्त लोकप्रिय छ । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृंखलाहरू स्पष्ट देखिन्छन्, जसले यहाँ पुगेका पर्यटकलाई अपूर्व आनन्द दिन्छ ।

    स्तूपको सेतो गुम्बज र सुनौलो शीर्षले यसलाई निकै आकर्षक बनाएको छ । यसमा बुद्धको जीवनका महत्वपूर्ण घटनाहरूलाई चित्रात्मक रूपमा अंकित गरिएको छ, जसले शान्ति, सद्भाव र दया जस्ता बौद्ध दर्शनका मूलभूत मूल्यहरूको सन्देश दिन्छ । यहाँ पुग्ने बाटोहरू छोरेपाटन, फेवाताल किनार, चापाकोट र अन्य पैदल पदमार्ग हुँदै जान सकिन्छ, जसले पदयात्राको अनुभवसमेत दिलाउँछ । स्तूप वरिपरिको वातावरण शान्त, हरियालीले भरिपूर्ण र ध्यान–धार्मिक अभ्यासका लागि उपयुक्त छ ।

     

    विश्व शान्ति स्तूप केवल धार्मिक स्थल मात्र नभई सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । दैनिक रूपमा यहाँ देशी तथा विदेशी पर्यटकहरूको भीड लाग्ने गर्छ । शान्त वातावरणमा केही समय ध्यान बसेर वा वरिपरिको प्राकृतिक सौन्दर्य हेरेर यहाँ पुग्ने जो कोही पनि मानसिक सान्त्वना र आनन्द पाउँछन् । यसरी, पोखरा भ्रमण गर्ने जो कोहीका लागि विश्व शान्ति स्तूप अवश्य घुम्नुपर्ने गन्तव्य हो ।

    ८. गुप्तेश्वर महादेव गुफा

    गुप्तेश्वर महादेव गुफा पोखराको एक अद्वितीय धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल हो, जसले आफ्नै प्राकृतिक संरचना र धार्मिक महत्त्वका कारण पर्यटक तथा भक्तजनलाई आकर्षित गर्दछ । यो गुफा पोखरा उपत्यकाको दक्षिणतर्फ, डेभिस फल्स नजिकै अवस्थित छ । करिब ३ किलोमिटर लामो मानिने यस गुफामा प्रकृतिले करोडौँ वर्षमा ढुंगाको संरचना काट्दै आजको सुन्दर रूप दिएको छ । गुफाभित्र प्रवेश गर्दा त्यहाँको चिसो वातावरण, ढुंगाले बनेका अद्भुत आकारहरू, अनि गहिराइले मानिसलाई रोमाञ्चक अनुभव दिन्छ । तर गुप्तेश्वर गुफाको सबैभन्दा ठूलो विशेषता भनेको गुफाभित्र अवस्थित भगवान शिवको प्राकृतिक स्वरूपको प्रतिमा हो, जसलाई स्थानीयहरूले “गुप्तेश्वर महादेव” भनेर पूजा गर्दछन् ।

     

    धार्मिक दृष्टिले हेर्दा, यो गुफा अत्यन्त पवित्र मानिन्छ । यहाँ रहेको शिवलिङ्गलाई स्वयंभू अर्थात् प्रकृतिद्वारा उत्पन्न भएको मानिन्छ । भक्तजनहरूको विश्वास अनुसार यहाँको दर्शन गर्नाले पाप नाश हुने र मनोकामना पूरा हुने गर्दछ । विशेषगरी महाशिवरात्रि, हरितालिका तीज र अन्य धार्मिक पर्वहरूमा यहाँको भीड निकै बढ्छ । नेपालभरिकै भक्तजन मात्र नभई भारत लगायतका छिमेकी मुलुकबाट समेत तीर्थयात्रीहरू यहाँ आउँछन् ।

    गुप्तेश्वर गुफा पर्यटकका लागि पनि आकर्षणको केन्द्र हो । गुफाभित्रको संरचना हेर्दा यस्तो लाग्छ जस्तो प्रकृतिले कुनै विशाल कलात्मक मूर्तिकलालाई यहाँ उत्कीर्ण गरिदिएको हो । ढुंगाको छतबाट पानीका थोपा चुहिँदै गर्दा गुफाको वातावरण रहस्यमय र जीवन्त लाग्छ । गुफाभित्र पैदल यात्रा गर्दा केही ठाउँ साँघुरो र केही ठाउँ फराकिलो पाइन्छ, जसले साहसिक अनुभूति दिलाउँछ । साथै, गुफाको पछाडिको भागबाट हेर्दा प्रसिद्ध डेभिस फल्सको पानी गुफाभित्रै खसिरहेको दृश्य देख्न पाइन्छ, जुन यसलाई अझ अद्वितीय बनाउँछ । पर्यटनको हिसाबले गुप्तेश्वर गुफाले पोखरालाई अझ आकर्षक गन्तव्य बनाएको छ । यहाँ देशी तथा विदेशी पर्यटकहरूको दैनिक भीड लाग्छ ।

    ९. अन्तर्राष्ट्रिय हिमाल संग्रहालय 

    पोखरा उपत्यकाको दक्षिणी भाग, सेती नदीको किनार नजिक अवस्थित अन्तर्राष्ट्रिय हिमाल संग्रहालय  नेपालकै मात्र होइन, सम्पूर्ण हिमालय क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको महत्त्वपूर्ण केन्द्र हो । सन् २००४ मा औपचारिक रूपमा उद्घाटन गरिएको यस संग्रहालयलाई नेपाल माउन्टेनियर्स संघले स्थापना गरेको हो । यसको मुख्य उद्देश्य विश्वकै सबैभन्दा अग्ला हिमालहरू, ती हिमालसँग सम्बन्धित संस्कृतिहरू, पर्वतारोहण इतिहास, र हिमाल संरक्षणको सन्देशलाई स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकबीच प्रवद्र्धन गर्नु हो ।

    यस संग्रहालयको क्षेत्रफल करिब १० हेक्टरमा फैलिएको छ र यसले भव्य र आधुनिक संरचनाको रूपमा पर्यटकलाई आकर्षित गर्छ । संग्रहालयको बगैँचाभित्रै हिमालमा पाइने विभिन्न किसिमका ढुंगा, चट्टान तथा वनस्पतिहरू राखिएका छन्, जसले बाहिरी वातावरणमै हिमालको अनुभूति दिलाउँछ । मुख्य भवनभित्र प्रवेश गर्दा नै पर्वतारोहणसँग सम्बन्धित जीवन्त प्रस्तुति, चित्र, फोटोग्राफी र पुरातात्विक सामग्रीहरू देख्न सकिन्छ ।

    संग्रहालयलाई विभिन्न थीमेटिक हलहरू  मा विभाजन गरिएको छ । पहिलो हलमा हिमालहरूको भौगोलिक र प्राकृतिक जानकारी दिइएको छ । हिमाल कसरी बने, कुन–कुन पर्वत श्रृंखलाहरू छन्, नेपालमा रहेका ८,००० मिटरभन्दा माथिका ८ वटा शिखरहरूको विशेषता आदि विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

    दोस्रो हलमा हिमाल वरिपरि बसोबास गर्ने समुदायहरूको संस्कृति र जीवनशैली प्रदर्शित छ । विशेष गरी शेर्पा, गुरुङ, मगर, थकाली, तामाङ, लोपा लगायतका हिमाली जनजातिहरूका परम्परागत पोशाक, घर निर्माण शैली, कृषि प्रणाली, संगीत वाद्ययन्त्र र दैनिक प्रयोग हुने सामाग्रीहरू यहाँ सजाइएका छन् । यसले पर्यटकलाई हिमाली जीवन नजिकबाट बुझ्न मद्दत गर्छ ।

    तेस्रो हलमा पर्वतारोहण इतिहास र महान आरोहीहरूको योगदान समेटिएको छ।  यहाँ विश्वप्रसिद्ध पर्वतारोहीहरूका तस्वीर, आरोहणमा प्रयोग भएका पुराना उपकरण, अक्सिजन सिलिन्डर, कपडा, रेकर्ड, र सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्दा प्रयोग गरेका सामग्रीहरूको प्रतिकृति राखिएको छ । यसले पर्वतारोहणको संघर्ष, जोखिम र उपलब्धिलाई प्रत्यक्ष अनुभूति दिलाउँछ ।

    संग्रहालयमा विशेष प्रदर्शनी पनि आयोजना हुने गर्छ । जस्तै, हिमालमा भइरहेको जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असरबारे तथ्यांक, फोटो र भिडियो देखाइन्छ । हिमालमा बस्ने हिँउ चितुवा, हिमालि चराहरू र दुर्लभ वनस्पतिहरूको नमुना पनि राखिएको छ । यसरी संग्रहालयले केवल इतिहास र संस्कृति मात्र नभई भविष्यका चुनौती र संरक्षणको आवश्यकता पनि प्रष्ट्याउँछ ।

    संग्रहालयको बगैँचाभित्र इगतमययच क्भअतष्यल पनि छ, जहाँ कृत्रिम चट्टान (ब्चतषष्अष्ब िऋष्mिदष्लन ध्बिि) बनाइएको छ । पर्यटक र विद्यार्थीहरूले यहाँ प्रशिक्षण स्वरूप पर्वतारोहणको अनुभव गर्न सक्छन् । यसबाहेक, ठूलो आकारको शिलालेखन, हिमालमा पाइने ढुंगाहरू, र स्मारक शिलालेखहरूले पनि बाहिरी क्षेत्रलाई आकर्षक बनाएका छन् । अन्तर्राष्ट्रिय हिमाल संग्रहालय केवल पर्यटकका लागि मात्र नभई शोध–अध्ययन केन्द्रका रूपमा पनि महत्त्वपूर्ण छ । यहाँ विद्यार्थी, अनुसन्धानकर्ता, वैज्ञानिक र पत्रकारहरूले हिमाल सम्बन्धी अध्ययन गर्न सक्ने स्रोत सामग्री प्रशस्त पाइन्छ । नेपाल सरकारले पनि यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा प्राथमिकता दिएको छ ।

    पर्यटकका लागि संग्रहालय सहज रूपमा उपलब्ध छ। पोखराको  ीबपभकष्मभ बाट करिब १० मिनेट जत्रो दूरीमा रहेको यस ठाउँमा ट्याक्सी वा बसमार्फत सजिलै पुग्न सकिन्छ । यहाँ प्रवेश शुल्क तिर्नुपर्छ, जुन नेपाली, सार्क नागरिक र अन्य देशका पर्यटकका लागि फरक–फरक दरमा तोकिएको हुन्छ । संग्रहालय बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म खुला रहन्छ ।

    उपयुक्त मौसम कुनै पनि हो, तर चाडपर्व र पर्यटन सिजन (अक्टोबर–नोभेम्बर र मार्च–अप्रिल) मा यहाँ ठूलो भीड हुन्छ । संग्रहालय घुमिसकेपछि बाहिरको बगैँचामा बसेर पोखरा उपत्यकाको दृश्य नियाल्न सकिन्छ, जसले घुमाइलाई अझै रमाइलो बनाउँछ ।

    १०. बिन्द्यवासिनी मन्दिर  

    पोखरा उपत्यकाको मध्य भागमा अवस्थित बिन्द्यवासिनी मन्दिर गण्डकी प्रदेशको सबैभन्दा पुरानो र महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहरमध्येको एक हो । यो मन्दिर समुद्री सतहदेखि करिब ३,००० फिट उचाइमा रहेको एक सानो डाँडाको टुप्पोमा अवस्थित छ । विशेषगरी माछापुच्छ्रे हिमाल, अन्नपूर्ण श्रृंखला र धौलागिरिको हिमशृंखला यहाँबाट प्रष्ट देखिन्छ, जसले धार्मिक आस्थालाई मात्र होइन, प्राकृतिक सौन्दर्यलाई पनि अद्भुत बनाएको छ।

    बिन्द्यवासिनी मन्दिर भगवतीको (देवी पार्वतीको अवतार) मन्दिरका रूपमा चिनिन्छ । यो हिन्दू धर्मावलम्बीहरूको अत्यन्तै श्रद्धा र विश्वासको केन्द्र हो । स्थानीय कथनअनुसार, यो मन्दिरको स्थापना करिब १८ औं शताब्दीमा कास्कीका राजा सिद्धिनारायण शाहले गरेका थिए । उनीले भारतको बिन्द्याचल पर्वतबाट देवीको मूर्ति ल्याएर यहाँ स्थापना गरेका थिए भन्ने जनविश्वास रहिआएको छ । त्यसयता, यस मन्दिरले पोखरा र आसपासका बासिन्दाहरू मात्र नभई नेपालभरिका भक्तजनलाई आकर्षित गर्दै आएको छ । दशैंको समयमा यहाँ विशेष रूपमा ठूलो भीड लाग्छ । भक्तजनहरूले रातो टीका र जमरा चढाई देवीको पूजा गर्ने परम्परा अझै जीवित छ ।

     

    मन्दिर परिसर निकै रमणीय छ । यहाँ शान्त वातावरण, सुसज्जित उद्यान, फूलबारी र भक्तजनलाई बस्ने ठाउँहरू रहेका छन् । वरिपरिको वातावरणले मन्दिरलाई धार्मिक मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण बनाएको छ । हरेक बिहान र बेलुकी देवीको आरती गर्दा घण्टीको मधुर ध्वनि, धुप–बत्तीको सुगन्ध र भक्तजनहरूको श्रद्धा मिसिएर यहाँको वातावरण एकदमै आध्यात्मिक र शान्तिमय हुन्छ ।

    बिन्द्यवासिनी मन्दिर धार्मिक आस्थाको मात्र केन्द्र होइन, सांस्कृतिक र सामाजिक मिलनस्थल पनि हो । विवाह, व्रतबन्ध, पुजा–पाठजस्ता महत्वपूर्ण धार्मिक अनुष्ठानहरू यहाँ गरिन्छन् । विशेषगरी पोखरा र आसपासका बासिन्दाहरूका लागि यो मन्दिर परिवारिक संस्कार र धार्मिक परम्परासँग जोडिएको पवित्र स्थल हो ।

     

    ११. अर्मलाकोट

    पोखरा उपत्यकाको पश्चिमी भागमा अवस्थित अर्मलाकोट प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ग्रामीण जीवनशैलीको उत्कृष्ट मिश्रणको लागि प्रसिद्ध छ । समुद्री सतहदेखि करिब १,३००–१,४०० मिटर उचाइमा फैलिएको यो क्षेत्र हिमालयका मनोरम दृश्यहरू, हरियाली पहाडहरू र शुद्ध वातावरणका कारण पर्यटक र स्थानीय दुवैको आकर्षणको केन्द्र बनिसकेको छ । अर्मलाकोट शहरको भीडभाडबाट केही टाढा अवस्थित भए पनि यहाँ पुग्दा पर्यटकले वास्तविक ग्रामीण जीवन, स्थानीय संस्कृतिको अनुभव र प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्छन् ।

    अर्मलाकोटको सबैभन्दा ठूलो विशेषता यसको प्राकृतिक दृश्यावलोकन हो । यहाँबाट पूर्वतर्फ फेवा ताल, बेगनास ताल र रुपा तालको दृश्य स्पष्ट देखिन्छ । साथै, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमालको सुन्दर श्रृंखला पनि दृष्यावलोकन गर्न सकिन्छ । बिहानको समयमा, जब सूर्यको पहिलो किरण हिमालको चोटीमा पर्छ, त्यसबेला उत्पन्न सुनौलो आभाले पहाड र उपत्यकालाई झनै मनमोहक बनाउँछ । साँझको समयमा सूर्यास्तसँगै पहाड र गाउँका छाना हरियो–रातो रङमा डुब्दा अद्भुत दृश्य उत्पन्न हुन्छ ।

    अर्मलाकोटको सांस्कृतिक र धार्मिक महत्व पनि कम छैन।  यहाँ मुख्यतया गुरुङ, मगर, क्षेत्री र थकाली समुदायका मानिसहरू बसोबास गर्छन् । उनीहरूको परम्परागत घर, भेषभूषा, जीवनशैली र धर्म–संस्कार पर्यटकका लागि नयाँ अनुभव प्रदान गर्छ । यहाँको गाउँघरमा बसेर स्थानीय खाना चाख्ने, लोकनृत्य हेर्ने र पर्वको समयमा सहभागी हुने अवसर पाउँदा पर्यटकले नेपालको मौलिक संस्कृति नजिकबाट बुझ्न सक्छन् । अर्मलाकोट आसपासमा रहेको स्थानीय मन्दिरहरू पनि धार्मिक यात्रा र सांस्कृतिक अध्ययनका लागि महत्त्वपूर्ण छन् ।

    पर्यटकको दृष्टिले, अर्मलाकोटले शान्त र प्राकृतिक पर्यटनको अवसर प्रदान गर्दछ । यहाँ डाँडाको माथिबाट पैदल हाइकिङ, साइक्लिङ र प्रकृति–अवलोकन गर्न सकिन्छ । स्थानीय गाइडको सहयोगमा छोटो–लामो ट्रेकिङ मार्गहरू उपलब्ध छन्, जसले पर्यटकलाई जंगल, ढुङ्गा, खोला र पहाडको सम्पूर्ण अनुभव दिलाउँछ । अर्मलाकोट वरिपरिको वनमा दुर्लभ चराहरू, हरियो वनस्पति र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ, जसले यहाँको पर्यटन अनुभवलाई अझ जीवित बनाउँछ ।

    अर्मलाकोटको मौसम वर्षभर घुम्न उपयुक्त छ, तर अक्टोबर–नोभेम्बर र मार्च–अप्रिलको मौसम सबैभन्दा रमाइलो मानिन्छ । यस समयमा आकाश प्रायः सफा रहन्छ र हिमालको दृश्य स्पष्ट देखिन्छ । बिहानको समय सूर्योदय हेर्नु र बेलुकी सूर्यास्तको दृश्य अवलोकन गर्नु पर्यटकका लागि अविस्मरणीय अनुभव बनाउँछ । यहाँको वातावरण शान्त, स्वच्छ र हरियालीले ढाकिएको भएको कारणले मानसिक शान्ति र आरामको अनुभव लिन उत्कृष्ट स्थान हो ।

    १२. महेन्द्र गुफा

    महेन्द्र गुफा पोखराको एक प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक आकर्षण हो, जुन कास्की जिल्लाको बतुलेचौर क्षेत्रमा अवस्थित छ । पोखरा उपत्यकाबाट करिब १० मिनेटको दूरीमा पर्ने यो गुफा नेपालका प्रमुख गुफाहरूमध्ये एक मानिन्छ । सन् १९५० को दशकमा यस गुफा औपचारिक रूपमा सार्वजनिक गरिँदा तत्कालीन राजा महेन्द्रले भ्रमण गरेका कारण यसलाई “महेन्द्र गुफा” नाम दिइएको हो । यस गुफा करिब २०० मिटर लामो छ र चूनापत्थरबाट बनेको प्राकृतिक संरचना भएकोले यहाँको आन्तरिक वातावरण अत्यन्त आकर्षक छ ।

    गुफाभित्र प्रवेश गर्दा अन्धकार, चिसो वातावरण र ढुंगाका अनौठा आकृतिहरूले मानिसलाई नयाँ संसारमा प्रवेश गरेको अनुभूति दिलाउँछ । गुफाभित्र विभिन्न आकारका चट्टानी संरचना छन्, जसलाई स्थानीयहरूले धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट पनि महत्व दिएका छन् ।

     

    महेन्द्र गुफाभित्र देखिने स्टालक्टाइट र स्टालाग्माइट नामका ढुंगाका संरचना वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण छन् । छतबाट तलतिर बिस्तारै बढ्दै गरेका ढुंगाका लठ्ठी जस्तै संरचना तथा भुइँबाट माथि बढ्दै गएका स्तम्भहरूले करोडौँ वर्षमा बनेको प्राकृतिक चमत्कार देखाउँछन् । पानीको थोपा ढुंगामा लगातार टपकिँदा बनेका यी आकृतिहरू प्रकृतिको कलात्मक रूप हुन्। गुफाभित्र हिँड्दा कतै साँघुरो र कतै फराकिलो मार्गहरू भेटिन्छन्, जसले यात्रालाई रोमाञ्चक बनाउँछ । गुफाभित्र प्रवेश गर्दा पक्षीको आवाज र पानीको थोपा खस्ने ध्वनिले अझै रहस्यमय माहोल सिर्जना गर्छ।

    महेन्द्र गुफाले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याएको छ । यहाँ दैनिक रूपमा देशी तथा विदेशी पर्यटकहरूको आगमन हुन्छ । गुफा बाहिर पार्किङ, टिकट काउन्टर, साना पसल र विश्रामका ठाउँहरू रहेका छन् ।

    १३. आँटीघर मौजा

    कास्कीको पर्यटकीय गन्तव्य मौजा आँटीघर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पोखरा बजारदेखि करीब १५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा पर्ने पोखरा महानगरपालिका वडा नम्बर २० मा पर्ने मौजा आँटीघर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । मौजा आँटीघर पर्यटकीय हिसाबले मात्र होईन, ऐतिहासिक रुपले पनि महत्वपूर्ण मानिन्छ ।

    त्यहाँको दुई सय वर्ष पुरानो आँटीघर ऐतिहासिक धरोहर हो । जसको नाम बाटै गाउँको नाम आँटीघर रहन गएको हो । सन १८१४ मा निर्माण भएको त्यसबेला सबैको एकतले माटो र ढुंगाले बनेको घर हुने भएपनि त्यसबेलाका अग्रज केसु गुरुङले तला थपेर घर बनाएका थिए जसको नामबाट पछि गाँउको नाम रहन गयो । तला थपेको घरलाई आँटी भनिने र पूरै गाउँमा एउटै मात्र आँटी भएको घर भएकाले सबैले आँटीघर भन्न थालियो । आँटीघर चर्चित भएपछि ओल्लोपल्लो गाउँकाहरुलेपनि त्यस गाउँलाई आँटीघर गाउँ भन्दाभन्दै गाउँको नाम नै आँटीघर गाउँ रहन गएको स्थानिय बताउछन् ।

    पहिले आँटीघर जाने बाटो गोरेटोजस्तो थियो । पछि कच्ची सडकमा परिणत भयो । हुँदाहुँदै अहिले त महानगरको कनेक्टिङ लिंक रोडले जोडेको छ । सो सडकको काम अहिले धमाधम भइरहेको छ । बाटो सुगम भएसँगै आँटीघर गाउँ जान सहज भएको छ । हिजो पोखराबाट ३÷४ घण्टा लगाएर पुग्नुपर्ने ठाउँ अहिले ५०÷५५ मिनेटमै पुग्न सकिने भएको छ ।

    १४. काहुँ डाँडा

    काँहु डाँडा पोखराको सुन्दरताको एउटा अद्वितीय आभूषण हो, जसले प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सांस्कृतिक विविधतालाई एकैसाथ समेटेको छ । यो डाँडा पोखरा उपत्यकाको पूर्व–दक्षिण भागतर्फ पर्दछ। काँहु डाँडाबाट पोखरा उपत्यका, हरियाली जंगल, फाँट, गाउँघर, बेगनास र रुपा ताल, अन्नपूर्ण हिमालशृङ्खला र माछापुच्छ्रे हिमालको मनोरम दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ। यस डाँडाले आन्तरिक तथा बाह्य पर्यटकलाई साँच्चिकै मोहित बनाउँछ। यहाँबाट बिहान सूर्योदय र साँझ सूर्यास्त हेर्ने अनुभव यात्रुहरूको लागि जीवनभर सम्झनलायक बन्ने गर्छ।

    धार्मिक दृष्टिले पनि काँहु डाँडाको विशेष महत्व छ। यस क्षेत्रमा काँहु भगवती मन्दीर रहेको छ, जहाँ विभिन्न तीज, दशैं, र अन्य चाडपर्वमा भक्तजनहरूको ठूलो भीड लाग्छ । स्थानीय बासिन्दाले यस मन्दीरलाई शक्तिस्वरूपा देवीको प्रतीकका रूपमा मान्ने गर्दछन्। काँहु डाँडामा पुग्ने बाटोहरू पनि साह्रै रमणीय छन्। हिँड्दै गर्दा पाइने ताजा हावा, चराचुरुङ्गीको चिरबिर आवाज, जंगलको शान्त वातावरण यात्रुलाई झन् नजिक पुर्याउँछ।

    पर्यटकीय दृष्टिले काँहु डाँडा निकै सम्भावनायुक्त गन्तव्य हो । साहसिक पर्यटकहरूका लागि यहाँ ट्रेकिङ, साइकलिङ, र पदयात्रा जस्ता गतिविधि लोकप्रिय छन् । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भूभागमा अवस्थित काहुँडाँडा यतिखेर यहाँको एक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ । आँखा अगाडि नै टलक्क टल्कने चाँदीजस्तै हिमशृङ्खला, फेवातालसहित पोखरा बजार एवं सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

      

    पोखरा बजारदेखि सबैभन्दा छोटो समयमा राष्ट्रिय फूल लालीगुँरास ढकमक्क फुलेको देख्न र छोएर अनुभूति गर्न सकिने उक्त डाँडामा पर्यटकीय आकर्षक भनेकै धरहरा हो । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट देखिने हिमशृङ्खला तथा पोखराका दुवै विमानस्थल, फेवाताल, सेतीनदी, धार्मिक क्षेत्रसहित बजारको दृश्यले अवलोकनकर्तालाई मनमोहक बनाउने गरेको छ ।

     

     १५. माटेपानी गुम्बा पोखरा

    माटेपानी गुम्बा पोखराको धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एउटा महत्वपूर्ण आकर्षण हो । पोखरा उपत्यकाको उत्तरतर्फ, सेती नदीको पूर्व किनारमा अवस्थित यो गुम्बा बौद्ध धर्मावलम्बीहरूको आस्था र श्रद्धाको केन्द्रका रूपमा चिनिन्छ। सन् १९६० को दशकतिर स्थापित गरिएको यो गुम्बा तिब्बती शैलीको वास्तुकला, सुन्दर मूर्तिहरू र भित्ते चित्रहरूले सजिएको छ । गुम्बाभित्र प्रवेश गर्दा शान्त वातावरण, धूपको सुवास, घण्टीको मधुर आवाज र भजन–प्रार्थनाले मनलाई आध्यात्मिक शान्ति प्रदान गर्छ ।

    माटेपानी गुम्बाबाट पोखरा शहर, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण शृङ्खला र हरियालीले भरिएको उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकहरूले यहाँ शान्तिपूर्ण ध्यान र साधनाको अनुभव लिन सक्छन् । गुम्बामा रहेका भित्ते चित्रहरू बुद्धका जीवनकथामा आधारित छन्, जसले ज्ञान, करुणा र शान्तिको सन्देश दिन्छ। धार्मिक महत्वका साथै यो गुम्बाले सांस्कृतिक पर्यटनलाई पनि प्रवद्र्धन गर्दै आएको छ ।

    आजकल माटेपानी गुम्बा विदेशी पर्यटकहरूबीच पनि निकै लोकप्रिय छ । यहाँ पुग्नेहरूलाई नेपाली र तिब्बती संस्कृतिको मिश्रण, धार्मिक वास्तुकलाको भव्यता, र आध्यात्मिक अनुभवको अद्वितीय स्वाद पाउन सकिन्छ । त्यसैले माटेपानी गुम्बा पोखरा भ्रमण गर्ने प्रत्येक व्यक्तिका लागि नछुटाउने गन्तव्य बनेको छ । पोखराको महेन्द्रपुलबाट काँहुखोला जाने बाटो हँुदै यहाँ पुग्न सकिन्छ ।

     

    १६. भद्रकाली मन्दीर पोखरा

    भद्रकाली मन्दीर पोखराको दक्षिणपूर्वी भागमा रहेको एक महत्वपूर्ण धार्मिक स्थल हो । यो मन्दीर शक्ति र भक्ति दुवैको प्रतीकका रूपमा चिनिन्छ । भद्रकाली देवीलाई शक्तिस्वरूपा मानिन्छ, जसको दर्शन गर्न देशभरका भक्तजन यहाँ आउने गर्छन् । मन्दीर घना वनजंगलले घेरिएको पहाडको टाकुरामा अवस्थित छ, जहाँ पुग्दा वातावरण शान्त र आध्यात्मिक लाग्छ । मन्दीरसम्म पुग्ने बाटो निकै रमणीय छ । मन्दीर परिसरमा पुगेपछि सुव्यवस्थित प्राङ्गण, ढुङ्गा र काठले बनेका परम्परागत मूर्तिहरू, धूप–दीपको सुवास र भक्तजनको आवतजावतले वातावरणलाई अझै पवित्र बनाउँछ ।

    पर्यटनको दृष्टिले पनि भद्रकाली मन्दीरले ठूलो महत्व राख्छ। पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ पुगेर धार्मिक वातावरणसँगै आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्छन् । हिउँले ढाकिएका हिमालहरू, हरियाली वन, र पोखरा उपत्यकाको दृश्य यहाँबाट अवलोकन गर्न सकिन्छ । भद्रकाली मन्दीर धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अद्वितीय मिश्रणका रूपमा पोखराको आकर्षक स्थलहरूमध्ये एक बनेको छ । महेन्द्रपुलबाट काँहुखोला जाने बाटो हँुदै यहाँ पुग्न सकिन्छ ।



    heralokhabar heralokhabar    
  • १७ आश्विन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP