एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ ।
पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् ।
न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ ।
पहिलो खेलमा भारतसँग पराजित बंगलादेशलाई फाइनल सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुन्छ । यो खेलमा पराजित भएमा बंगलादेश प्रतियोगिताबाट १ खेल अगावै बाहिरिने छ । बंगलादेश पराजित भएमा पाकिस्तान पनि समूह चरणबाटै बाहिरिने छ ।
यसअघि सन् २०१७ मा कार्डिफमा भएको च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको थियो । प्रतियोगिताको हेड टु हेड रेकर्ड १-१ को बराबरीमा छ ।
न्युजिल्याण्डले २०१५ यता बंगलादेशसँग २१ खेल खेलेको छ । जसमा न्युजिल्याण्डले १७ र बंगलादेशले ३ खेल जितेको थियो । पछिल्लो ५ खेलमा ४ मा न्युजिल्याण्ड र १ मा बंगलादेश विजयी भएको थियो ।
प्रतिक्रिया