हेरालाे खबर
काठमाडौँ । अग्रवाल सेवा केन्द्रअन्तर्गत सक्रिय अग्रवाल युवा मञ्च (एवाईएम), काठमाडौँको आयोजनामा ‘एवाईएम खेल महोत्सव-२०२६’ को तेस्रो संस्करण विशालनगरस्थित धन्वन्तरी स्पोर्ट्स हबमा औपचारिक रूपमा सुरु भएको छ।

२७ गतेसम्म सञ्चालन हुने यस तीनदिने खेल महोत्सवमा देशका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको छ। महोत्सवको पूर्वसन्ध्यामा भदौ २४ गते बुधबार राति कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रको केन्द्रीय भवनमा आयोजित भव्य कार्यक्रमका बिच नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको ट्रफी अनावरण गरेका हुन्।

ट्रफी अनावरण गर्दै पूर्वकप्तान मल्लले मारवाडी समुदाय व्यावसायिक क्षेत्रमा मात्र सीमित नरही खेलकुदको विकास, प्रवर्द्धन र सक्रियतामा समेत अगाडि बढेको देख्दा खुसी लागेको बताए।

यस वर्षको महोत्सवमा इनडोर क्रिकेट, इनडोर फुटसल, ब्याडमिन्टन, स्विमिङ, टेबल टेनिस र पुल गरी छ वटा खेलहरू समावेश गरिएका छन्, जसमा ब्याडमिन्टन र टेबल टेनिसतर्फ पुरुष, महिला तथा बालबालिका वर्गमा छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ भने स्विमिङमा पाँच वर्षमाथिका सबै उमेर समूहका खेलाडीहरू सहभागी छन्।
उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूका लागि नगद पुरस्कारको समेत व्यवस्था गरिएको प्रतियोगितामा मारवाडी समाजका युवाहरूलाई खेलकुदमार्फत स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने, नयाँ प्रतिभाको पहिचान तथा विकास गर्ने र युवाहरूबीच आपसी भाइचारा एवं एकता कायम गर्ने मूल उद्देश्य राखिएको छ। विगतका दुई संस्करणको सफलता र प्राप्त सकारात्मक प्रतिक्रियालाई आत्मसात् गर्दै आयोजक अग्रवाल युवा मञ्चका महासचिव करण अग्रवालले यस वर्षको आयोजनालाई थप भव्य, व्यवस्थित र सहभागितामूलक बनाइएको जानकारी दिएका छन्।
प्रतिक्रिया