तमु साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग तमु

हेरालाे खबर
पोखरा | तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं साधारणसभा तथा ९ औं अधिवेशन आज शनिबार पोखरामा सम्पन्न भएको छ ।
संस्थाका कानूनी सल्लाहकार अधिवक्ता कर्ण बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थाले समुदायमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबाट आफू अत्यन्त प्रभावित भइ संस्थाप्रतिको प्रेम र सम्मानमा सृजना गर्नु भएको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुम तमु, तमु धीं यु.के. का पूर्व अध्यक्ष तथा प्रतिष्ठानका अक्षयकोष दाता मुक्षेत्र तमु, गुरुङ साहित्यिक मन्चका संस्थापक अध्यक्ष एवम् प्रतिष्ठानका आजिवन सदस्य गौरी तमु, तमु प्रतिष्ठान नेपाल विद्यार्थी मन्चका अध्यक्ष सुदिप तमु र प्रथम उपाध्यक्ष श्रीजङ तमुले आफ्नो मन्तव्य राख्नुभएका थिए । कार्यक्रममा सचिवद्वारा संस्थाको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाको ९ औं अधिवेशनमा संस्थाका संस्थापक उपाध्यक्ष, अक्षयकोष दाता एवम् सल्लाहकार दुर्गा बहादुर तमुको संयोजकत्वमा सदस्य रेडियो नेपाल प्रादेशिक प्रशारण गण्डकी पोखराका कार्यालय प्रमुख एवम् आजिवन सदस्य शान्ती तमु र कानूनी सल्लाहकार कर्ण बहादुर तमुको तीन सदस्यीय निर्वाचन समितिले श्रीजङ तमुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । प्रथम उपाध्यक्ष – भेषबहादुर तमु, द्वितीय उपाध्यक्ष- ओमबहादुर तमु, सचीव-कन्चन तमु, स-सचिव- लोकबहादुर तमु, कोषाध्यक्ष- श्यामबहादुर तमु, सह-कोषाध्यक्ष- लक्ष्मी तमु, सदस्यहरु धनकुमारी तमु, मणिलाल तमु, पूर्णकुमारी तमु, बिलबहादुर तमु, मायाकुमारी तमु सर्वसम्मत निर्वाचित भएका छन् भने २ जना सदस्य कार्यसमितिले मनोनीत गर्ने गरि निर्वाचन समितिले अख्तियार दिएको छ ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा सन्चालन सचीव कन्चन तमुले गर्नुभएको थियो ।
प्रतिक्रिया