हेरालाे खबर
काठमाडौँ। राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सम्पन्न भएको छ । असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जना सहभागी भएका कार्यक्रम संयोजक तथा संस्थाका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, समाचार तस्बिरको गुणस्तर सुधार, फोटो क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) सम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिममा फोटोपत्रकारिताको परिचय र विकास, समाचार मूल्य तथा फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फोटो पत्रकारिताको आचारसंहिता तथा नैतिकता, फिल्ड अभ्यास र फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य र राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले सहजीकरण गरेका थिए ।
तालिम समापन समारोहमा संस्थाका पूर्वअध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न वज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएर प्रशिक्षार्थीहलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले यस्ता सीपमूलक तालिमले फोटोपत्रकारको व्यावसायिक दक्षता, सिर्जनशीलता तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
तालिमका सहभागीले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल तथा फिल्ड फोटोग्राफीमा सक्रिय सहभागिता जनाएका थिए। अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरको समीक्षा तथा मूल्याङ्कनसमेत गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तर सञ्चालन गरिने प्रतिवद्दता जनाए । तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ ले बताए । आगामी दिनमा एआई , ड्रोन फोटोग्राफी, भिडियोग्राफी तथा एडभान्स फोटोग्राफीसम्बन्धी तालिमहरू अझ व्यापक सहभागितासहित सञ्चालन गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिए ।
तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षकहरू, अतिथिहरू, सहभागीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया