सखुवाप्रसौनीमा ६२१ सुकुम्बासीलाई निस्सा वितरण, भूमिसमस्या समाधानमा स्थानीय सरकारको ठोस कदम
हेरालाे खबर
रामकिशोर चौधरी
पर्सा|सखुवाप्रसौनी गाउँपालिका स्तरीय सहजीकरण समिति र भूमिसमस्या समाधान आयोग (पर्सा) को सहकार्यमा आयोजित विशेष कार्यक्रममार्फत वडा नं. १ र २ का सुकुम्बासी परिवारलाई निस्सा वितरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष (मेयर) जस्वन्त यादवले गरेका थिए भने प्रमुख अतिथि भूमिसमस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमद थिए।

वडा नं. १ का ४३१ जना र वडा नं. २ का १९० जना, गरी ६२१ सुकुम्बासी व्यक्तिहरूलाई निस्सा वितरण गरिएको हो।
कार्यक्रममा अध्यक्ष यादवले आफ्नो मन्तव्यमा भने –
“हामीले भूमिहीन, विपन्न र सुकुम्बासी नागरिकलाई जीवनमा स्थायित्व दिने दिशामा यो निस्सा वितरण कार्यक्रम महत्वपूर्ण कदम हो। आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो। गाउँपालिकाले भविष्यमा पनि भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सहकार्य गर्दै जानेछ।”

कार्यक्रममा उपाध्यक्ष शर्मिला बिष्ट महतोले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमहरूले नागरिकको सरकारप्रतिको विश्वास बलियो बनाउने बताइन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहा, वडा नं. १ का अध्यक्ष बासुदेव महतो थारु, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं. ३ का मोजामिल अन्सारी, वडा नं. ४ का महम्द आरीफ अन्सारी, वडा नं. ५ का अशेशवर यादव, र वडा नं. ६ का मुना कमकरलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमले सुकुम्बासी नागरिकलाई कानुनी पहिचान दिलाउँदै भविष्यमा स्थायी बसोबासको बाटो खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया