हेरालाे खबर
काठमाडौं । ज्येष्ठ नागरिक चौतारीले चन्द्रागिरी नगरपालिका वडा नं. ६ स्थित मातातीर्थमा आफ्नो कार्यक्षेत्र विस्तार सँगै बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । पब्लिक नेपाल डेण्टल हस्पिटल एण्ड पोलिक्लिनिक सँगको प्राविधिक सहयोगमा आयोजित दन्त शिविर अन्तर्गत मातातीर्थ बृद्धाश्रममा रहेका २४ जना बृद्धबृद्धाहरुको दन्त परिक्षण गरिएको हो ।

यसैगरि बोसिगाउँ स्थित ज्येष्ठ नागरिक दिवा सेवामा पनि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जहा ५१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएका अधिकांशमा स्वास्थ समस्या देखिएकाले थप उपचारका लागि समन्वय भैरहेको डा.सरोज घिमिरेले जानकारी दिनुभयो । सोही अवसरमा ज्येष्ठ नागरिकको रक्तचाप, सुगर परिक्षण सँगै उपलब्ध औषधिहरु निशुल्क वितरण गरिएको थियो ।

यसैवीच कार्यक्रम उद्घाटनका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति देवी सुवेदीले ज्येष्ठ नागरिकलाई राज्यवाट विशेष व्यवस्था सहित सहुलियत प्रदान गरिएपनि विगतका दिनहरुमा उपलब्धिमूलक कार्यान्वयन हुन नसकेको बताउनुभयो । अहिले हामी जुन स्थानमा बाँचिरहेका छौं यो सब हाम्रा अग्रज एवं ज्येष्ठ नागरिकको योगदानको उपज हो भन्दै उहाले ज्येष्ठ नागरिक प्रतिको पहिलो जिम्मेवारी सन्तान र परिवारले लिनुपर्ने उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकको सीप, क्षमता पुस्तान्तरण एवं दैनिक सहज जीवनयापनका लागि दिवा सेवा केन्द्र उत्कृष्ट विकल्प रहने उहाको भनाई थियो । ज्येष्ठ नागरिकका क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरु सँग समन्वय गर्दै व्यवहारिक पाटोमा देखिएका समस्याहरुलाई नीतिगत रुपमा परिमार्जन सँगै सम्बोधन गर्न आफुहरु लागिरहेको उहाले बताउनुभयो ।
मातातीर्थ वृद्धाश्रम समितिका सचिव राम थापाले आश्रित ज्येष्ठ नागरिकलाई राज्यबाट उपलब्ध सेवासुविधा दिलाउने क्रममा प्रशासनिक रुपमा निकै अप्ठ्यारो भोग्नुपरेको गुनासो गर्नुभयो ।
कार्यक्रम ज्येष्ठ नागरिक चौतारी कोषाध्यक्ष चण्डिमो सामनेर (भन्ते) को अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबीच ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापाले आफ्नो जन्मदिनको अवसर पारेर बृद्धाश्रममा उच्च रक्तचाप, मधुमेह लगायत जाँच एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभयो ।
ज्येष्ठ नागरिकलाई स्वस्थ राख्ने भन्ने उद्देश्य सँगै स्थापना भएको ज्येष्ठ नागरिक चौतारीले हाल वागमती प्रदेशका ८ जिल्लामा कार्यक्षेत्र विस्तार गरि सेवा दिदै आईरहेको छ । देशभरका ७७ वटै जिल्लामा आफ्नो शाखा सँगै स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सँगै काम भैरहेको अध्यक्ष बालकृष्ण थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया