हेरालाे खबर
काठमाडौ | जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव तथा तेस्रो चाइना नेपाल मिडिया समिट काठमाण्डौंमा सम्पन्न भएको छ। एस् ए टी भी तथा नेपाल चाइना मिडिया फोरम को सह आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री सम्माननीय पृथ्वी सुब्बा गुरुङ, नेपाल स्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ , नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपाल स्थित चिनियाँ उद्यमी हरुको संस्थाका अध्यक्ष चु चिङ चुन, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा लगायतको उपस्थिति थियो।
कार्यक्रम एस् ए टी भी को स्थापना पछिको कामको बारे विश्लेषण सहितको भिडियो प्रस्तुत गर्दै सुरु भएको थियो। त्यस पश्चात् नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले मन्तव्य प्रस्तुत गर्नु भएको थियो । उहाँले नेपाल र चीनको सम्बन्ध पहिल्यै देखि सुन्दर रहँदै आएको र अब नेपाली तथा चिनियाँ सञ्चारमाध्यमले मिलेर यस किसिमको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउन पहल गर्नु पर्ने भन्नु भयो।
नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्ले आफ्नो मन्तव्य राख्दै सुरुवातमा तेस्रो चाइना मिडिया समिटमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गर्नु भयो। उहाँले अघिल्ला दुई संस्करण आफू सहभागी हुन नपाएको तर यस संस्करणमा सहभागी हुन पाएकोमा धेरै खुसी रहेको बताउनुभयो।
नेपाल र चाइनाको सम्बन्ध सधैँ राम्रो रहेको कुरा गर्दै उहाँले चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहेको बताउनु भयो। आफ्नो देशले ७५औँ स्थापना दिवस मनाइरहँदा धेरै खुट्किलाहरू चढेर आएकाले , गरिब देशको सुचीबाट धनी देशको सुचीमा पुग्दाका सङ्घर्ष र कथाहरूबाट सिकाउन सक्ने बताउनु भयो। नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउन नेपालबाट उत्पादित वस्तुहरूलाई कर नलाग्ने व्यवस्था गरेको जानकारी गर्नु भयो। उहाँले थुप्रै सामाजिक तथा आर्थिक लगानी गरेको भए पनि त्यसले नेपालमा लगानी नपुगेको बताउँदै त्यसमा अझै मेहनत गर्नु पर्नेमा जोड दिनु भयो।
के गरेर नेपाल र चाइनाको बिचमा अझै समन्वय गरेर चाइनाबाट धेरै भन्दा धेरै फाइदा लिन नेपालले सक्नु पर्ने र त्यसका लागि सञ्चारमाध्यमहरूले गर्नु पर्ने पनि उहाँले भन्नु भयो।
नेपालले चाइनाबाट धेरै कुरा सिक्न सक्ने र त्यसकालागि बहस हुनुपर्ने र त्यस बहसको सुरुवात आजको कार्यक्रमले दिएको भन्दै उहाँले आयोजकलाई धन्यवाद प्रदान गर्नु भयो।
विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले रोमाञ्चकता थपेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले उपस्थित भएर प्रमुख आतिथ्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो। उहाँले नेपाल र चीन बिचको लामो सुमधुर सम्बन्ध रहँदै आएको सम्झँदै ७५ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भयो। प्रायः समय पत्रकारिता क्षेत्रको विकास र ती क्षेत्रले देश तथा छिमेकमा ल्याउने सकारात्मक परिवर्तनको व्याख्या गर्नु भयो ।नेपाललाई चीन सरकारले पूर्वाधार विकासमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको र यस सहयोगमा बढोत्तरीको आशा राखेको उहाँले बताउनु भयो।
कार्यक्रममा रिलायन्स स्कुलका छात्रछात्राले आइ लभ यु चाइना बोलको गीत गाउनुका साथै विभिन्न कविहरूले कविता पनि प्रस्तुत गर्नु भएको थियो।
एस् ए टी भी का अध्यक्ष तथा आयोजक हौ सि होङ् ले यस सुमधुर समयमा भएको कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा अतिथिहरूलाई धन्यवाद अर्पण गर्दै एस् ए टी भी ले आगामी दिनमा पनि नेपाल र चीन सम्बन्ध सुधार तथा अपनत्व बढाउन यी र यस्ता कार्यक्रमहरू गरिराख्ने जनाउनु भयो।
प्रतिक्रिया