logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • साफ महिला च्याम्पियनशिप : नेपाल र बंगलादेश भिड्दै

    • Heralo Reporter Heralo Reporter
    • १४ कार्तिक २०८१ बुधबार
    साफ महिला च्याम्पियनशिप : नेपाल र बंगलादेश भिड्दै

    पाेखरा , हेरालाे खबर

    साफ महिला च्याम्पियनशिप फुटबलको सातौँ संस्करणको फाइनल खेल बुधबार हुँदैछ । फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन् । यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो ।

    छैटौँ संस्करणमा नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन ।

    नेपाल छैटौँ पटक फाइनलमा पुगेको हाे । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

    त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७-१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो ।

    यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन ।

    टिकटमा नयाँ व्यवस्था

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ ।

    एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो ।

    १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ ।

    अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री हुने भएको छ ।

    एन्फाले फाइनल खेलको अधिकतम् १० हजार टिकट बिक्री गर्ने जनाएको छ । एन्फाले एक व्यक्तिलाई भीआईपीतर्फको २ र साधारणतर्फको ५ टिकटमात्र किन्न पाउने बताएको छ ।

    एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ । साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ ।

    रंगशालामा भीआईपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल आज साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।



    Heralo Reporter Heralo Reporter    
  • १४ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP