पाेखरा , हेरालाे खबर
अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित थियो ।
मतदाताको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’ को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेद्वारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।
कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्य वृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
तुलनात्मक रुपमा आप्रवासीप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ ।
उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।
स्वीङ्ग राज्य निर्णायक
अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ ।
यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा छ । यी राज्यको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।
पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यममा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ ।
सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।
कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपालीको मत निर्णायक
व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ ।
सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुन सक्ने बताइएको छ । नेपाली मतदातालाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा पुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए ।
शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए ।
पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्न सक्ने उनले धारणा राखे ।
पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे ।
आप्रवासीप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपाली देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्ट राखेका छन् ।
ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।
अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ ।
यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।
प्रतिक्रिया