हेरालाे खबर
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन गरिएको यस तालिमले स्थानीय युवाहरूलाई कफीका विभिन्न परिकारको व्यावसायिक ज्ञान र सिप सिकाउने आयोजकले जानकारी गराएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष तेजबहादुर गिरीले भने, “नेपाल पर्यटन बोर्ड र यूएनडीपीले दिएको सहयोग अत्यन्त सराहनीय छ । यस किसिमका तालिमहरूले स्थानीय युवालाई दक्ष बनाएर होटल व्यवसाय र पर्यटन विकासमा ठोस योगदान पुर्याउनेछन् ।”
संघका महासचिव कृष्ण पराजुलीले बरिष्टा तालिमलाई दीगो रोजगार र आत्मनिर्भर अर्थतन्त्रतर्फको कदमका रूपमा व्याख्या गर्दै सहभागीहरूलाई लगनशीलताका साथ सिप सिक्न आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले २५ दिने तालिमले सिप हासिल र क्षमतावृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, “आफूले सिकेको सिपले होटल व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु ।”
त्यस्तै, इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाले बरिष्टा तालिमले स्थानीय युवालाई उद्यमशीलता र दीगो पर्यटन विकासमा अग्रसर गराउने बताए । उनले भने, “हाल कफी संस्कृतिको माग बढ्दो छ । यसलाई व्यवसायिक रूपमा विस्तार गर्न यस्ता तालिमहरू महत्त्वपूर्ण आधार बन्नेछन् ।”
२५ दिनसम्म चल्ने यो तालिममा सहभागीहरूले कफीका सम्पूर्ण परिकारहरूको तयारी, प्रस्तुति, र सेवाका व्यावसायिक पक्ष सिक्नेछन् । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अनुसार, यस्तो सिपमूलक तालिमले स्थानीय रोजगार सिर्जना र पर्यटन क्षेत्रको समग्र गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया