logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • काभा बिच भलिबलका लागि नेपाली टोली भुटान जाने

    • heralokhabar heralokhabar
    • १६ भाद्र २०८३ मंगलवार
    काभा बिच भलिबलका लागि नेपाली टोली भुटान जाने

    हेरालाे खबर

    काठमाडौं। भुटानमा आयोजना हुने काभा बिच भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार औपचारिक रूपमा बिदाइ गरिएको छ।

    राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दै नेपालको नाम उच्च राख्न खेलाडीहरूलाई आग्रह गरे।

    भदौ १७ देखि २१ गतेसम्म भुटानमा सञ्चालन हुने प्रतियोगितामा नेपालले महिला र पुरुषतर्फ समान दुई–दुई टोली गरी चार टोली उतार्दैछ।

    महिला स्पर्धामा सुनिता राई–भावना डाँगी तथा कोपिला राना–कमला पुनको जोडीले नेपालको चुनौती प्रस्तुत गर्नेछ। यस्तै, पुरुषतर्फ झमनसिंह दर्जी–सरण कार्की तथा राजकुमार निरौला–महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन्।

    नेपाली टोलीको प्रशिक्षकमा श्रीराम बोगटी तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ रहेका छन्। प्रतियोगिताका लागि नेपाली टोली बुधबार भदौ १७ गते भुटान प्रस्थान गर्नेछ।

    बिदाइ कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले खेलाडीहरूलाई देशलाई सम्झेर आत्मविश्वासका साथ खेल्न आग्रह गरे। उनले पदक जित्न सफल खेलाडीलाई राज्यको नियमावलीअनुसार पुरस्कृत गर्नुपर्ने धारणा राखे।

    अध्यक्ष चन्दले नेपाल भलिबल संघले पनि आफ्नो स्रोतबाट खेलाडीलाई पुरस्कार तथा प्रोत्साहन उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रममा संघका उपाध्यक्ष भरत शाह, महासचिव रोशन श्रेष्ठलगायत पदाधिकारी तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो।



    heralokhabar heralokhabar    
  • १६ भाद्र २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP