logo
  • ४ श्रावण २०८३, सोमबार | Mon, 20 Jul 2026
  • सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिकालाई जोड दिँदै देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    • heralokhabar heralokhabar
    • २१ असार २०८३ आईतवार
    सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिकालाई जोड दिँदै देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    हेरालाे खबर

    ललितपुर। सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा स्थानीय सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पदा समाजले शनिबार ललितपुरको ऐतिहासिक देवीचौर क्षेत्रमा पत्रकार पदयात्रा कार्यक्रम आयोजना गरेको छ।

    कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर प्रमुख अतिथि तथा नगरपालिकाकी उपप्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, सम्पदा संरक्षणकर्मी, फोटो पत्रकार, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रम आफ्नो मन्तव्य राख्नुहुदै प्रमुख अतिथिले नेपालको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा भावी पुस्ताको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले गोदावरी नगरपालिकाले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

    विशिष्ट अतिथिले सम्पदा संरक्षणका लागि जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता पदयात्राले सम्पदाप्रतिको अपनत्व बढाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न पत्रकारहरूको योगदान उल्लेखनीय रहने उहाँको भनाइ थियो। त्यस्तै गोदावारी नगरपालिका नामकरण भएको थोरै समय भएकोले राज्यले अलि ठूलो बजेट दिए धेरै काम गर्न सकिने बताउँनु भएको थियो ।

    सम्पदा समाजका महासचिव श्याम डोटेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै देवीचौर आसपास रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वबारे जानकारी गराउन तथा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन पत्रकार पदयात्रा आयोजना गरिएको बताउनुभयो। उहाँले सम्पदा संरक्षण केवल सरकारी निकायको दायित्व मात्र नभई सम्पूर्ण समुदायको साझा अभियान हुनुपर्नेमा जोड दिनुभयो।

    पदयात्राका क्रममा सहभागीहरूले देवीचौर क्षेत्रका विभिन्न मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा, पुरातात्त्विक संरचना तथा स्थानीय सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए। सम्बन्धित क्षेत्रका जानकारहरूले प्रत्येक सम्पदाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व, वर्तमान अवस्था तथा संरक्षणका चुनौतीबारे जानकारी गराएका थिए।

    सहभागी पत्रकारहरूले सम्पदाको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दै तस्बिर तथा भिडियो अभिलेखीकरण गरेका थिए। उनीहरूले सम्पदा संरक्षणका विषयलाई समाचार, फोटो फिचर, वृत्तचित्र तथा डिजिटल माध्यमबाट व्यापक रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा वक्ताहरूले तीव्र शहरीकरण, अव्यवस्थित विकास निर्माण, प्राकृतिक क्षयीकरण तथा संरक्षणप्रतिको कमजोर सचेतनाका कारण कतिपय ऐतिहासिक सम्पदा जोखिममा परेको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षणका लागि सरकार, स्थानीय तह, समुदाय र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

    पत्रकार पदयात्राले स्थानीय सम्पदाको ऐतिहासिक महत्व उजागर गर्नुका साथै सम्पदा संरक्षण अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै गोदावरी नगरपालिकाभित्र रहेका अन्य ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको समेत अध्ययन, अवलोकन र प्रचार–प्रसार गरिनुपर्ने सुझाव दिएका थिए।

     



    heralokhabar heralokhabar    
  • २१ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP