logo
  • २६ असार २०८३, शुक्रबार | Fri, 10 Jul 2026
  • माडी र ललितपुर तेस्रो, शनिबार उपाधिका लागि काठमाडौं–बेथानचोक र ललितपुर–महांकाल भिड्ने

    • heralokhabar heralokhabar
    • २६ असार २०८३ शुक्रबार
    माडी र ललितपुर तेस्रो, शनिबार उपाधिका लागि काठमाडौं–बेथानचोक र ललितपुर–महांकाल भिड्ने

    हेरालाे खबर

    काठमाडौँ। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ माडी नगरपालिका र महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भएका छन्।

    शुक्रबार तेस्रो स्थानका लागि भएको पुरुषतर्फको खेलमा माडीले मेलुङ गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्यो। माडीले २५–२१, २५–२३ र २५–१६ को जित निकाल्दै तेस्रो स्थानसँगै ५० हजार रुपैयाँ पुरस्कार हात पार्यो।

    महिलातर्फ ललितपुरले गौरीशंकर गाउँपालिकालाई ३–१ को सेटमा हरायो। पहिलो सेट २५–२१ ले जितेको ललितपुर दोस्रो सेटमा १६–२५ ले पराजित भएको थियो। त्यसपछि तेस्रो र चौथो सेट समान २५–२३ ले आफ्नो पक्षमा पार्दै ललितपुरले तेस्रो स्थान सुरक्षित गर्यो। यससँगै ललितपुरले पनि ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।

    यसअघि भएको पहिलो सेमिफाइनलमा काठमाडौं महानगरपालिकाले ललितपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछि २५–२३ र २५–१९ ले लगातार दुई सेट आफ्नो पक्षमा पार्यो। चौथो सेट २१–२५ ले गुमाए पनि निर्णायक पाँचौँ सेट १५–५ ले जित्दै फाइनल यात्रा तय गर्यो।

    दोस्रो सेमिफाइनलमा बेथानचोक गाउँपालिकाले गौरीशंकर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो। बेथानचोकले पहिलो र दोस्रो सेट क्रमशः २५–२३ र २५–१२ ले जितेको थियो। तेस्रो सेट २२–२५ ले गुमाए पनि चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्यो।

    महिलातर्फको उपाधिका लागि शनिबार बिहान ८ बजे काठमाडौं महानगरपालिका र बेथानचोक गाउँपालिका आमनेसामने हुनेछन्।

    पुरुषतर्फको उपाधि भिडन्तमा शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन्। सेमिफाइनलमा ललितपुरले माडी नगरपालिकालाई तथा महांकालले मेलुङ गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

    प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।



    heralokhabar heralokhabar    
  • २६ असार २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP