हेरालो खबर
काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भई आजबाट ‘खल्ती बाई आइएमई’ नाममा एकीकृत कारोबार शुरु गरेको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवा ग्राही कारोबारमा जोडिएका छन् ।

यो मर्जर सँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवा पुस्तामा रुचाइएको थियो । अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।
साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुन सक्नेछन् । यस प्रक्रियामार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्नेछन् ।
आईएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेड ले देशभर वित्तीय पहुँचको नयाँ युग शुरु गर्ने बताए । आइएमई खल्ती लिमिटेड का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।
प्रतिक्रिया