पोखरा , हेरालाे खबर
आज भाद्रशुल्क चतुर्थीमा पर्ने गणेश चतुर्थी । नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।
सनातनीले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधा हटाउने देवता मान्छौँ, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।
मानिसलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्व हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपाद्वारा आशिर्वाद प्राप्त गर्न भगवान गणेशजीलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।
विशेषगरी महाराष्ट्र राज्यमा १० दिनसम्म यस पर्वलाई विशाल रूपमा मनाइन्छ, जहाँ भगवान गणेशको मूर्ति स्थापना गरिन्छ र धूमधामका साथ पूजापाठ गरिन्छ र अन्त्यमा मूर्ति विसर्जन गरिन्छ ।
गणेश चतुर्थी कहिले मनाइन्छ ?
गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि बुझिन्छ । हिन्दू धर्ममा एक महत्वपूर्ण तथा शुभ पर्व मानिएको छ । यो पर्व भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ । विशेष गरेर भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीलाई धेरै भव्यता तथा आस्थाका साथ मनाइन्छ ।
गणेशजीको एक नाम विघ्नहर्ता पनि हो । त्यसैले हिन्दू भक्तको मान्यता छ कि यी १० दिनमा जसले श्रद्धा एवं विधि–विधानले गणेशजीको पूजा गर्छ भने गणेश भगवान जो देवताको पनि अग्रणी देवता हुनुहुन्छ, भक्तको जीवनको सम्पूर्ण बाधाको अन्त गरेर आफ्ना भक्तलाई सौभाग्य, समृद्धि एवं सुख प्रदान गर्नुहुन्छ भन्ने मान्यता रहँदै आएको छ । गणेश चतुर्थीको दिन व्रत गर्ने व्यक्तिले चन्द्रमाको दर्शन गर्नुहुँदैन, चन्द्रमा हेर्नाले चन्द्र दोष लाग्न सक्छ, जसले गर्दा व्यक्तिलाई मिथ्या आरोपको सामना गर्नुपर्ने हुन सक्छ ।
कसरी मनाइन्छ गणेश उत्सव ?
१० दिनसम्म चल्ने यो पर्वमा श्रीगणेशको विभिन्न आकारको मूर्तिलाई घरमा, मन्दिरमा अथवा पन्डालमा शृंगार गरेर चतुर्थीको दिन स्थापित गरिन्छ । त्यहाँ स्थापना गरिएको मूर्तिमा वैदिक मन्त्रोच्चारणको साथ प्राणप्रतिष्ठा गरिन्छ ।
१० दिनसम्म अर्थात् अनन्त-चतुर्दशीसम्म गणेश प्रतिमालाई नित्य विधिपूर्वक पूजा गरिन्छ । एघारौँ दिन यो मूर्ति वा प्रतिमालाई कुनै स्वच्छ जलाशय जस्तै नदी अथवा सागर आदिमा प्रवाहित (विसर्जित) गर्ने परम्परा छ ।
प्रतिक्रिया