पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवातालदेखि रारातालसम्मको यात्रामा निस्किएको छ । टोलीमा पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्णप्रसाद बरालदेखि युवा ४२ वर्षका मनोज बरालसम्म छन् ।
कृष्णप्रसाद बराल यसअघि स्कुटरमै मेची महाकाली यात्रा गरिसकेका छन् । पाँच वटा मोटरसाइकल र दुईवटा स्कुटरमा १० जनाको टोली यात्रामा बुधबार निस्केका हुन् ।
पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले यात्रामा सहभागी टोलीलाई सफल यात्राको शुभकामना दिए ।
फेवादेखि रारातालसम्मको यात्राका क्रममा पोखराको पर्यटन प्रबर्द्ध हुने गरी सन्देश दिइने यात्रामा सहभागी ठाकुरप्रसाद बरालले बताए ।
रारा देशकै ठूलो भने फेवा दोस्रो ठूलो ताल हो । देशकै दुई ठूला ताल पर्यटकीय दृष्टिकोणले आआफ्नो महत्त्व र आकर्षण छ । यसैले पनि पर्यटन प्रवर्द्धनको सन्देश यात्रामा दिइने बरालले बताए ।
यात्रामा पोखरा-७ का पूर्ववडाध्यक्ष रामचन्द्र बराल, पोखरा-२१ का पूर्ववडाध्यक्ष खगराज आचार्य, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुरप्रसाद बराल, नुवारथोक टोल विकास संस्थाका पूर्वअध्यक्ष सञ्जय पौडेल, दुर्गाराज बराल, शिव बराल र राजेन्द्र अधिकारी छन् ।
प्रतिक्रिया