पोखरा , हेरालाे खबर
पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा आज तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ शहरबाट एक सय ३४ जना धावक र समर्थक चार्टर्ड उडानमार्फत बिहीबार नै पोखरा आइसकेका छन् ।
हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई. प्रतीकराज पहारीका अनुसार प्रतियोगितामा चारवटा विधाका दौडमा एक हजार दुई सय खेलाडी सहभागी हुनेछन् ।
उनका अनुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्याप्पी रन समूहमा दुई किमी दौड हुनेछ ।
टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुई लाख २९ हजार दुई सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
यसैगरी चौथो स्थानले एक लाख ५२ हजार आठ सय र पाँचौँ स्थान प्राप्त गर्नेले ९५ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने गरिने ई.पहारीले जानकारी दिए ।
यता, च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले जनही एक लाख ५२ हजार आठ सय तथा उपविजेताले एक लाख १४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
तेस्रो स्थान प्राप्त गर्नेले ७६ हजार चार सय, चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई ३८ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ ।
साथै आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई १९ हजार एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने ई. पहारीले बताए ।
यस्तै, विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार, उपविजेताले २५ हजार, तेस्रोले २० हजार तथा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेले जनही १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यता, ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ । सबै विधाका पुरस्कारका लागि मात्रै १९ लाख ३८ हजार एक सय रुपैयाँ खर्च हुने पहारीले जानकारी दिए ।
कुल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट शुरु भएर राष्ट्रबैंक चोक, ड्यामसाइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कुल, साल्मेडाँडा, रामकोट, कुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनः बाराहीघाट आएर समापन हुनेछ ।
टिम समूह दौडका लागि १७ वटा नेपाली र ४ वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको पहारीले जानकारी दिए ।
प्रतिक्रिया