logo
  • २७ चैत्र २०८२, शुक्रबार | Fri, 10 Apr 2026
  • जीटिनमा पदभार हस्तान्तरण तथा ग्रहण

    • heralokhabar heralokhabar
    • १९ चैत्र २०८२ बिहीबार
    जीटिनमा पदभार हस्तान्तरण तथा ग्रहण

     

    हेरालाे खबर

    काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)को नयाँ नेतृत्व सम्हाल्नु भएका अध्यक्ष बाबुराम गुरुङ लगायत पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ । निवर्तमान अध्यक्ष पिताम्बर गुरुङ नेतृत्वको पदाधिकारीहरुले नव निर्वाचित अध्यक्ष बाबुराम गुरुङ नेतृत्वको पदाधिकारी तथा सदस्यहरुलाई पदभार हस्तान्तरण गर्नुभएको छ । पदभार हस्तान्तरण कार्यक्रममा जीटिनका संस्थापक अध्यक्ष कुलबहादुरु गुरुङले नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिनुभयो ।

    जीटिनलाई सधैं एकढिक्का बनाएर लैजान आनुरोध गर्नुभयो । जीटिनका सदस्यहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने एकमात्र थलो जीटिन भएको उल्लेख गर्नुहुँदै पर्यटन क्षेत्रका विभिन्न संघसंस्थामा जीटिनका सदस्यहरुको सक्रीय उपस्थिती हुनुपर्नेमा जोड दिनुभयो ।

    पदभार हस्तान्तरण गनुहुँदै निवर्तमान अध्यक्ष पिताम्बर गुरुङले आफ्नो कार्यकालमा साथ, सहयोग र सल्लाह सुझावका लागि निरन्तर साथ दिने कार्यसमिति र सल्लाहकारहरुलाई धन्यवाद दिनुभयो । उहाँले नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।


    पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष बाबुराम गुरुङले जीटिन स्थापना र यहाँसम्म आइपुग्नुमा अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रसंशा गर्नुभयो । आफ्नो कार्यकालमा पनि जीटिनबाट गर्न सकिने संभावना भएका क्षेत्रहरुमा काम गर्ने बताउनुभयो । अध्यक्ष गुरुङले जीटिनको विधान संशोधन, मजदुर कोष संचालन सम्बन्धी कार्यविधि निर्माण, गुरुङ जातीको बसोबास रहेको क्षेत्रहरु जस्तै सभापोखरी (लाली गुराँसको राजधानी) पदमार्ग प्रचार र प्रवद्र्धन लगायत पर्यटनसंग जोडिएका क्षेत्रहरुमा सक्रीय रहेर काम गर्ने योजना अघि सार्नुभयो । आफ्नो कार्यकालमा पनि जीटिन पदाधिकारी सदस्य र सल्लाहकारहरुको साथ र सल्लाह सुझावको सधैं आफुले अपेक्षा गर्ने बताउनुभयो ।

    पदभार ग्रहणसंगै जीटिनको पहिलो बैठक पनि बसेको छ । बैठकले जीटिन कार्यसमितिलाई पुर्णता दिन सल्लाहकारहरु चयन गरेको छ । सल्लाहकारहरुमा संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, संस्थापक उपाध्यक्ष धन बहादुर गुरुङ, महासचिव टिकाराम गुरुङ, निवर्तमान अध्यक्षहरु कमला गुरुङ, अम्बिर गुरुङ चयन गरेको छ । यसैगरी ईश्वर कोने गुरुङ, तेज बहादुर गुरुङ र डाक्टर टेक बहादुर गुरुङ (पर्यटन क्षेत्रबारे जानकार)लाई सल्लाहकारमा जीटिनको पहिलो बैठकले चयन गरेको छ । यसैगरी विधान संशोधन, आगामी दिनमा गुरुङ हेरिटेज टे«ल प्रमोशन तथा व्यवस्थापनमा के गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।

    बैठकले जीटीन मिडिया कोअर्डिनेटरमा जुली गुरुङलाई चयन गरेको छ भने जीटिन सद्भावनादूतमा ‘मिस वल्ड टुरिजम नेपाल २०२५’ गरिमा गुरुङलाई चयन गरेको छ ।

    पदभार हस्तान्तरण कार्यक्रममा जीटिनका निवर्तमान कार्यसमिति, सल्लाहकार, नव निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । डेढ सयभन्दा बढि सदस्य रहेको जीटिनमा कार्यसमितिको समयावधि तीन वर्षको हुनेछ ।



    heralokhabar heralokhabar    
  • १९ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP