अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को प्रथम महाधिवेशन काठमाडौंमा हुने, तयारीका लागि १० ठाउँमा सम्मेलन हुँदै
हेरालो खबर
काठमाडौं । बौद्ध धर्मालम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को प्रथम महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अगामी असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महाधिवेशनमा नेपाल, भारत, भूटान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मालम्बी गुरुङ समुदायको सहभागिता रहनेछ ।
महाधिवेशनले “गुरुङ बुद्धिजम” को अवधारणा र यसले अपनाउने पेक्ष्या (संस्कार संस्कृति) का बारेमा विस्तृत छलफल गरिर “गुरुङ बुद्धिजम पेक्ष्या” नामक निर्देशिका जारी गरिने बताइउको छ । सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा भनिएको छ, “विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरुलाई महाधिवेशनमा सहभागी हुन परिषद् हार्दिक अपील गर्दछ ।”
असोजमा हुने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप यही बैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, बैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, बैशाख १६ गते पोखराकै पार्दी तमू समाज र बैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना रहेको पनि आयोजकले जनाएको छ ।

त्यसैगरी नेपाल, भारत, भूटान र संयक्त राज्य अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ तारिख (जेठ ३ ) मा भारतको सिलगुढी, मे १८ तारिख (जेठ ४) मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ तारिख (जेठ ५) मा गान्तोक, र मे २० तारिख (जेठ ६) मा याङ-याङमा अन्तर्क्रियाहरु आयोजना गरिने छन् । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफलहरु आयोजना गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।
पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा. कुमार गुरुङले परिषद् बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यहरूको अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा राष्ट्रिय परिषद्हरू पनि क्रियाशील रहेको बताए ।
परिषद्ले गुरुङ संस्कार संस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्ने पनि अध्यक्ष गुरुङले बताए । “गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा आधारभूत मापदण्डहरुमा एकरूपता र एकता कायम गर्ने उद्देश्य परिषद्ले राखेको छ” उनले भने ।

परिषद्ले गुरुङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएको बौद्ध धर्मलाई “गुरुङ बुद्धिजम” को रूपमा परिभाषित गरेको छ भने अभ्यासकर्तालाई “गुरुङ बौद्ध धर्मालम्बी” को रुपमा मानेको छ ।
गुरुङ समुदायले आफ्नो संस्कार संस्कृतिलाई बौद्ध धर्मका आधारभूत मान्यतासँग एकाकार गर्दै अभ्यास गर्दै आएको लामो इतिहास छ । तर पछिल्लो समयमा लामा गुरूहरूमा बौद्ध दर्शनको ज्ञान उच्चस्तरको भए पनि विविध कारणले गुरुङ संस्कारमा दिक्षित हुन नपाउँदा परम्परागत संस्कारको निरन्तरतामा समस्या देखिएको छ । यसैलाई ध्यानमा राखी परिषद्ले गुरुङ लामाहरूको शिक्षा दिक्षाका क्रममा बौद्ध दर्शनसँगै गुरुङ पेक्ष्याको पनि प्रशिक्षण दिने गरी योजनाहरु बनाएको छ । यसबाट गुरुङ समुदायले अभ्यास गर्दै आएको गुरुङ बौद्ध दर्शन र संस्कार–संस्कृति दुवैको जीवन्तता सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा परिषद्का डेपुटी प्रेसिडेन्ट धुर्वबहादुर गुरुङले प्रेस विज्ञप्ति बाचन गरेका थिए भने अर्का डेपुटी प्रेसिडेन्ट डा. छम्पा मेघी लामा गुरुङ र महासचिव पुष्पबहादुर गुरुङ पनि रउपस्थित थिए ।
प्रतिक्रिया