logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पोखरा–५ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

    पोखरा–५ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

    पोखरा, हेरालाे खबर

    माघ २६ – पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथामका लागि पोखरा महानगरपालिका–५ नं. वडा कार्यालयको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    शनिबार शहरी स्वास्थ्य केन्द्र, पोखरा–५ मा आयोजित स्वास्थ्य शिविरमा महिलाहरूको VIA (Visual Inspection with Acetic Acid) परीक्षण गरिएको थियो। परीक्षणमार्फत पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सुझाव प्रदान गरिएको थियो।

    शिविर पोखरा महानगरपालिका–५ को वडा कार्यालयको आयोजनामा तथा प्रस्याङ रातमाटा महिला बचत समूहको सहआयोजनामा सम्पन्न भएको हो। साथै, रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटल को सहजकर्तामा कार्यक्रम सञ्चालन गरिएको थियो।

    कार्यक्रममा वडा अध्यक्ष विष्णु बरालले स्वास्थ्य शिविरमा महिलाहरूको स्वास्थ्यप्रति गम्भीर भएर सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको उल्लेख गरे । १० देखि १४ वर्षका किशोरीहरूलाई एचपीभी (HPV) खोप अभियान सञ्चालन भइरहेको जानकारी गराउँदै, महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता शिविरहरू आवश्यक रहेको बताए। साथै, उनले वडा कार्यालयले वार्षिक कार्ययोजनाअनुसार यस्ता कार्यक्रम गर्दै आएको र शिविर सफल बनाउन भूमिका खेल्ने रोटरी क्लबहरूलाई धन्यवाद दिए।

    स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै जनप्रतिनिधि हरिमाया विश्वकर्माले महिलाहरूको स्वास्थ्यप्रति सरकार तथा विभिन्न संघसंस्थाहरू गम्भीर रूपमा लागिपरेको बताइन्। उनले VIA परीक्षण को महत्त्वबारे जानकारी दिँदै भनिन्, “यस परीक्षणको मुख्य उद्देश्य महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्नु र यदि कुनै समस्या देखिएमा उपचारका लागि उचित सुझाव दिनु हो। सकेसम्म रोग लाग्न नदिऔं, रोकथाम नै सबैभन्दा राम्रो उपाय हो।”

    शिविरमा १०७ जना महिलाले VIA TEST गरिएकोमा ४ जनामा पाठेघरको मुखको क्यान्सरको संकेत देखिएको र ५ जनामा आङ खस्ने समस्या देखिएको सिनियर अनमी अस्मिता अधिकारीले बताइन्। उनले परामर्शका साथै संकास्पद भएकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा परीक्षणको लागि रिफर गरिएको पनि जानकारी दिइन् ।

    कार्यक्रम गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा भएको हो।



    Heralo Reporter Heralo Reporter    
  • २६ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP