logo
  • ६ जेष्ठ २०८३, बुधबार | Wed, 20 May 2026
  • नेपाली महिलाद्वारा पहिलो पटक ७७ जिल्लाको सोलो बाइक अभियान

    • heralokhabar heralokhabar
    • ६ जेष्ठ २०८३ बुधबार
    नेपाली महिलाद्वारा पहिलो पटक ७७ जिल्लाको सोलो बाइक अभियान

    हेरालाे खबर

    काठमाडौं । नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले नेपालका सबै ७७ जिल्लाको ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन्। “नेपाल ७७ – द सोलो राइड अफ अ नेपाली वुमन” नामक अभियानअन्तर्गत उनी हाल ओखलढुंगा पुगेकी छन्।

    ५० देखि ५५ दिनभित्र बिना विश्राम सम्पूर्ण नेपाल भ्रमण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान नेपाली महिला राइडिङ इतिहासकै पहिलो सोलो ७७ जिल्ला यात्रा भएको बताइएको छ।

    काठमाडौंको सितापाइलाकी २३ वर्षीया सितल गिरी सन् २०१८ देखि मोटरसाइकल राइडिङमा सक्रिय छिन्। उनी नेपालकी पहिलो महिला मोटरसाइकल प्रशिक्षक तथा सबैभन्दा कान्छी रोड क्याप्टेनका रूपमा परिचित छिन्। हालसम्म उनले ४०० भन्दा बढी महिलालाई मोटरसाइकल तालिम दिई लाइसेन्स प्राप्त गर्न सहयोग गरिसकेकी छन्।

    यसअघि उनी ६८ जिल्ला पुगिसकेकी छन् भने डोल्पासम्मको १५ दिने एकल यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्। अब बाँकी जिल्लासहित सम्पूर्ण ७७ जिल्ला लगातार यात्रा गरेर नयाँ इतिहास रच्ने लक्ष्य उनको रहेको छ।

    करिब ६ हजारदेखि ७ हजार किलोमिटर दूरी पार गरिने यस यात्रामा हिमाली भेग, कर्णालीका दुर्गम क्षेत्र, पहाडी मार्ग तथा तराईका लामो राजमार्ग समेटिएका छन्। यात्राको ९० प्रतिशत भाग मोटरसाइकलमार्फत र बाँकी १० प्रतिशत दुर्गम क्षेत्रमा पैदल तथा विशेष पहुँचमार्फत पूरा गरिने बताइएको छ।

    सामाजिक सञ्जालमा पनि सितल गिरीको प्रभावशाली उपस्थिति रहेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत उनका ३ लाख २९ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

    उनले यस अभियानलाई ऊर्जा, साहस, सहनशीलता तथा महिला सशक्तीकरणको प्रतीकका रूपमा प्रस्तुत गरेकी छन्। यात्राका क्रममा दैनिक भिडियो, लाइभ अपडेट, हेल्मेट क्याम फुटेज, रील्स तथा अन्तिममा वृत्तचित्र निर्माण गरिने योजना रहेको छ।

    सितल गिरीका अनुसार, “यो केवल मोटरसाइकल यात्रा होइन, यो महिलाको आत्मनिर्भरता, साहस र सीमालाई चुनौती दिने राष्ट्रिय अभियान हो।”

    यात्रासँगै उनले हरेक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को झण्डासहित संस्थागत प्रचारप्रसार गर्दै संस्थाबारे स्थानीय सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै हिँडिरहेकी छन्। एनएफपिजे नेपालले पनि उनको यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।



    heralokhabar heralokhabar    
  • ६ जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP