हेरालाे खबर
काठमाडौ । नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी शुरूवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साविक विजेता एपीएफले नेपाल आर्मीलाई २५–२०, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित गर्यो। एपीएफ छपटकको उपाधि विजेता हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ को लिगमा प्रहरीले पूर्व विजेता न्यु डायमन्डलाई सीधा सेटमा २५–१४, २५–२२ र २५–१३ ले हरायो ।
पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले प्रहरी विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । न्यु डायमन्ड पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।
प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेल आर्मी र एभरेष्ट भलिबल क्लबबीच बिहान ८ः०० बजे हुनेछ । दोश्रो खेलमा फेरि एभरेष्टले एपीएफविरुद्ध अपरान्ह ४ः०० बजे प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रतिष्ठानले महिला भलिबलको विकासमा ठूलो योगदान पुर्याइरहेको धारणा व्यक्त गरे ।
सो अवसरमा उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ सहित ५० हजार नगदबाट सम्मान गरिएको थियो । विदेशमा रहेकाले उषाको सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई पनि नगद ५० हजारसहित सम्मान गरियो।
उनीहरुलाई सदस्य–सचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरे ।
विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार नेपाल एसबीआई बैंक लिमिटेडले प्रायोजन गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यो पुरस्कारमा नविल बैंकको सहयोग रहने छ । सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ। प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको छ।
अन्य सहयोगीहरुमा एभरेष्ट बैंक, ग्लोबल आईएमइ, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, गरिमा विकास बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, फिट्नेस च्वाइस, बुद्ध एयर र गोकर्ण फोरेस्ट रहेका छन् । फाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया